काठमाडौँ, १३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
ललितपुरस्थित एन्फा मुख्यालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो।
एन्फाका सहायक महासचिव बद्री भट्टराईका अनुसार घटनाबारे सत्यतथ्य जानकारी लिन उहाँहरूलाई स्पष्टीकरण सोधिएको हो। २० सदस्यीय कार्यसमितिका १२ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा उक्त बैठक बसेको थियो। अध्यक्षले विधान अनुसार बैठक नडाकेपछि बहुमत सदस्यहरूको पहलमा वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा बैठक बसेको हो।
बैठका मुख्य निर्णयहरू:
समन्वय समिति गठन: फिफा, एएफसी र नेपाल सरकारसँग समन्वय गरी नेपालमै भौतिक बैठक आयोजना गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही तथा सदस्यहरू टिकाराम लामा र मनिष जोशी हुनुहुन्छ।
निमित्त महासचिवको जिम्मेवारी: दैनिक प्रशासनिक कार्य र पत्राचारका लागि सहायक महासचिव बद्री भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिइएको छ।
रोकिएको पारिश्रमिक र खेलाडी प्रोत्साहन: लामो समयदेखि रोकिएको खेलाडी, कर्मचारी तथा प्रशिक्षकहरूको पारिश्रमिक निकासका लागि आवश्यक प्रक्रिया अघि बढाउने र फिफा यू–१५ मा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीको प्रोत्साहनका लागि सरकारलाई पत्राचार गर्ने निर्णय भएको छ।
विशेष अदालतबाट खेल मिलेमतो र ठगी कसुरमा धरौटीमा रिहा हुनुभएका अध्यक्ष नेम्बाङ र महासचिव राई ५–५ लाख, कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख धरौटी बुझाएर छुटेका हुन्। गैर-फुटबल निकायको हस्तक्षेपको कारण देखाउँदै फिफाले २४ जुनदेखि एन्फालाई निलम्बनमा राखेको छ।