काठमाडौं, २४ असार ।
आगामी बर्ष भारतमाहुने आईसीसी वल्र्डकप टी –ट्वान्टी विश्वकप प्रतियोगिताको छनौट खेल आजबाट सुरु हुँदैछ । स्कटल्याण्ड र आयरल्याण्डमा हुने प्रतियोगिताबाट ६ राष्ट्रको छनौट हुनेछ ।
१४ देशको सहभागिता रहेको प्रतियोगीतालाई दुई समुहमा विभाजन गरीएको छ। समुह ‘ए’ मा नेपाल सँगै आयोजक आयरल्याण्ड ,पपुवा न्युगिनी ,हङकङ , जर्सी, नामिबिया र अमेरिका छन् ।
यस्तै समुह बीमा अफगानिस्तान, क्यानडा, केन्या, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र युएई छन् । प्रतियोगितको उद्घाटन खेलमा आज आयोजक स्कटल्याण्ड र युएई प्रतिस्पर्धा गर्ने छन् । यी दुई बीचको खेलमा नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
यस्तै, आज नै हुने अर्को खेलमा अफगानिस्तान र नेदरल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । यी दुई बीचको खेलमा नेपाली समय अनुसार बेलुका सात बजे हुनेछ ।
प्रतियोगिताको शीर्ष ६ मा रहने देश सन् २०१६ को मार्च ११ देखि अप्रिल ३ सम्म भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सहभागी हुने पाउने छन् । विश्वकपमा यी टोलीले आइसिसीका १० पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले भने आफ्नो पहिलो खेलमा भोली अमेरिकाविरुद्ध खेल्नेछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार शुक्रबार बेलुका सात बजेपछि सुरु हुनेछ ।
त्यस्तै नेपालले असार २६ गते नामिवियासँग , २८ गते आयरल्याण्डसँग र ३० गते हङकङबिरुद्ध खेल्ने छ । यस्तै साउन १ गते पपुवान्युगिनीसँग तथा २ गते जर्सीविरुद्ध खेल्ने छ ।
प्रयोगिताकै तयारीकै क्रममा नेदरल्याण्डसँग चार वटा ट्वेन्टी–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेल खेलेपछि नेपालले ट्वेन्टी–ट्वेन्टी विश्व बरियतामा प्रवेश पाएको छ । नेपाल बरियतामा १५ औं स्थानमा छ ।
यस्तै आइसिसीको ट्वेन्टी–ट्वेन्टी खेलाडीको बरियतामा नेपालका तीन खेलाडी पनि परेका छन् । कप्तान पारस खड्का ६४ औं स्थानमा छन् । यस्तै शरद भेषवाकर ८१ औं र ज्ञानेन्द्र मल्ल ८६ औं स्थानमा परेका छन् ।
यसैबीच , आइसिसीको नियम अनुसार प्रतियोगिताको समूहको शीर्ष स्थानमा स्थानमा रहने दुई टोली सिधै विश्वकपका लागि छनौट हुनेछन् ।
बाँकी चार टोलीका लागि भने प्लेअफ खेल हुनेछ । त्यसका लागि समुह एको दोस्रो स्थानमा रहने टोलीले समुह बीको तेस्रो स्थानमा रहेको टोलीसँग र समुह एको तेस्रो स्थानमा रहेको टोलीले समुह बीको दोस्रो स्थानमा रहेको टोलीसँग प्लेअफ खेल खेल्नेछ ।
प्लेअफमा विजयी हुने टोली विश्वकपका लागि छानिने छन् । प्लेअफमा हारेको समुह एको टोलीले समूह बीको चौंथो स्थानमा रहेको टोली र समुह बीको टोलीले समुह एको चौंथो स्थानमा रहेको टोलीसँग खेल्नेछ । यी खेलमा विजयी हुने टोली विश्वकपका लागि छनोट हुनेछन् ।
