जेष्ठ ३० काठमाण्डौं ।
सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारमा जाने कामदारसँग रोजगारदाता कम्पनीले एक पैसा पनि लिन नपाइने व्यवस्था गरेको छ ।
म्यानपावर कम्पनीले खाडीका ६ वटा मुलुक र मलेसियामा कामदार पठाउँदा हवाई टिकट, प्रवेशाज्ञा बापत लाग्ने खर्च लगायत कुनै पनि शुल्क लिन पाउने छैनन् ।
विभिन्न बहानामा त्यस्तो पैसा असुल भएमा कार्बाही हुने पनि सरकारले स्पष्ट पारेको छ ।
कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाए पुग्ने छ ।
कामदार माग गर्ने विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्र नेपालका म्यानपावर कम्पनीले १० हजारसम्म सेवा शुल्क लिन पाउने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसिया जाने कामदारलाई नि:शुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गरिएको छ ।
सरकारले यसअघि मलेसियाका लागि ८० हजार र खाडी मुलुकका लागि ७० हजारसम्म लागत तोकेर त्यसैअनुरुप कामदारसँग रकम लिन पाउने व्यवस्था गरेको थियो तर म्यानपावर कम्पनीले नि:शुल्क टिकट र प्रवेशाज्ञा ल्याए पनि कामदारसँग डेढ लाखसम्म रुकम असुली गर्दै आएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले सरकारले संयन्त्र बनाएर मात्र नि:शुल्क टिकट र भिसाको व्यवस्था लागू गर्नुपर्ने बताउनु भयो ।