जेष्ठ १३ काठमाण्डौं ।
नेकपा माओवादीले दार्चुला देखि ताप्लेजुङ सम्मको भूकम्प जोखिम युक्त क्षेत्रबाट जोखिम कम भएको क्षेत्रमा अब जनताहरुलाई पुनर्वास गराउनु पर्ने धारणा अघि सारेको छ ।
जनताको आवासका लागि विज्ञहरुको अध्ययन र सुझावका आधारमा जनताको आवास सुरक्षित स्थानमा सार्नु पर्ने महासचिव विप्लवले जोड दिनु भयो ।
उहाले भूकम्प प्रतिरोधी भवन बनाए पनि भूगोल र माटो नै कमजोर भए पछि सुरक्षित नहुने भन्दै सुरक्षित क्षेत्रमा जनतालाई सार्नु आवस्यक रहेको बताउनु भयो ।
ईच्छुक स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले जोखिमयुक्त क्षेत्रमा कृषि उद्योग र अन्य उत्पादन क्षेत्र बनाउनु पर्नेमा जोड दिनु भयो ।
माओवादीले ३० हजार युवा पुननिमार्णमा परिचालन गर्ने
महासचिव विप्लवले आफ्नो पार्टीको तर्फबाट १७ वटै जिल्लामा ७ हजार सम्म युवाहरु परिचालित गरीएको र अब केही दिन भित्रैमा थप युवाहरुलाई जिल्ला जिल्लामा पठाउने र समग्रमा ३० हजार युवाहरु टहरा निमार्ण गर्ने र उद्धार गर्ने कार्यमा खटाउने जानकारी दिनु भयो ।
सबै भन्दा पहिला पुननिमार्ण र सरसफाईमा अग्रसरता देखाएको विप्लव नेतृत्वको माओवादीले शुरु देखि नै भूकम्प प्रभावित गोरखा, दोलखा लगायतका जिल्लामा युवाहरु परिचालन गरीरहेको छ ।
यही जेष्ठ १८ गतेबाट देश विदेशबाट पार्टीका युवा कार्यकर्ताहरु जुटाएर पुन: प्रभावित क्षेत्रमा पठाउने तयारी माओवादीको रहेको उहाले बताउनु भयो ।
साथै उहाले अहिले जनतालाई आत्मनिर्भर बनाउन प्रयत्न गर्नु पर्ने भन्दै वैदेशिक सहयोग लिने तर यसका नाममा हुने हस्तक्षेपलाई आफ्नो पार्टीले स्वीकार नगर्ने स्पष्ट पार्नु भयो ।
महासचिव विप्लवले जेष्ठ महिना भित्रमा बर्दी सहित आएका सबै विदेशी सेना फिर्ता हुनु पर्ने प्रष्ट पार्नु भयो ।
सञ्चार माध्यमले समेत जनताले गरीरहेको मेहेनत र दुख:को प्रचार प्रसारमा ल्याएर जनतालाई उत्साहीत बनाउन सहयोग गर्न उहाले आग्रह गर्नु भयो ।
