एजेन्सी, २४ बैशाख । बेलायतमा आज संसदिय निर्वाचन हुँंदैछ । मतदानका लागि देशभर ५० हजार भन्दा बढी केन्द्र तोकिएका छन् । ६ सय ५० सीटका लागि हुने मतदानमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने संभवना रहेको मत सर्वेक्षणहरुले देखाएका छन् । बेलायतमा झण्डै ५ करोड नागरिक मतदानको लागि योग्य रहेको बताइएको छ । वेष्टमिनिष्टरको ६ सय ५० सिट बाहेक २ सय ७९ स्थानिय निकायको लागि आजै झण्डै ९ हजार काउन्सिल सिटको चुनाव पनि हुँदैछ ।
यसैगरी विभिन्न ६ शहरमा मेयरको लागि पनि आजै मतदान हुने अधिकारीहरुले जनाएका छन् । सत्तारुढ कन्जभेर्टिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरुनले मुलुक पांँच वर्ष अघि भन्दा शाक्तिशाली भए पनि अझै धेरै काम गर्न बांकी रहेको बताउनु भएको छ ।
यस्तै विपक्षी लेवर पार्टीका नेता इद मिलिबाण्डले भने आफ्नो पार्टीको विचारप्रति आशावादी रहेको भन्दै जनताले सही निर्णय लिने विश्वास व्यक्त गर्नु भएको छ । सन् २०१० मा भएको निर्वाचनमा प्रधानमन्त्री क्यामरुनको कन्जभेर्टिभ पार्टीले ३ सय ७ सीटमा जित हासिल गरेको थियो । विपक्षी लेबर पार्टीले भने २ सय ५८ सीट जितेको थियो ।