आँखुखोला जलविद्युतमा लगानी र सुशासनमाथि गम्भिर प्रश्न, ५ करोड भुक्तानीप्रति सञ्चालक सापकोटाको आपत्ति, रु.२ अर्बको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिन माग

आँखुखोला जलविद्युतमा लगानी र सुशासनमाथि गम्भिर प्रश्न, ५ करोड भुक्तानीप्रति सञ्चालक सापकोटाको आपत्ति, रु.२ अर्बको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिन माग

  • आइतवार, मंसिर १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

काठमाडौं। धादिङको रिङ्नेमा रहेको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको लगानी निर्णय, आर्थिक दायित्व र सञ्चालक समितिको कार्यशैलीलाई लिएर विवाद सार्वजनिक भएको छ ।
कम्पनीका शेयरधनी तथा निर्वाचित सञ्चालक रामप्रसाद सापकोटाले कम्पनीमा सुशासन, पारदर्शिता र शेयरधनीको लगानी संरक्षणको विषय उठाउँदै सञ्चालक समितिका केही निर्णयप्रति गम्भीर असहमति जनाएका हुन्् ।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै सापकोटाले माथिल्लो आँखुखोला जलविद्युत आयोजना (४४ मेगावाट) मा पर्याप्त अध्ययन र छलफलबिना रु.२० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको तथा आफ्नो सहमतिबिना नै रु.५ करोड रुपैयाँ भुक्तानी गरिएको दाबी गरेका छन् ।
उनले कम्पनीको विद्यमान आर्थिक दायित्वलाई बेवास्ता गर्दै नयाँ आयोजनामा थप लगानी गर्ने निर्णय गर्नु वित्तीय अनुशासन र शेयरधनीको हितविपरीत हुन सक्ने भन्दै आपत्ति जनाएका हुन् ।

सापकोटाका अनुसार कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजना तथा गणेश हिमाल लिमिटेडसँगको शेयर खरिदसम्बन्धी सम्झौताअनुसार करिब ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० देखि १२ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र आयोजना निर्माणका क्रममा सिर्जना भएको ४ देखि ५ करोड रुपैयाँसम्मको दायित्वसमेत बाँकी रहेको उनको भनाइ छ ।

यस्तो अवस्थामा नयाँ आयोजनामा थप लगानी गर्नु उचित नहुने उनको तर्क छ । कुनै पनि नयाँ आयोजनामा लगानी गर्नुअघि प्राविधिक, वित्तीय तथा कानुनी अध्ययन, जोखिम विश्लेषण र वित्तीय सम्भाव्यता मूल््याङ्कन गर्नुपर्ने उनको तर्क छ ।

सञ्चालक पदबाट हटाइएको निर्णयप्रति कानुनी प्रश्नः
सापकोटाले कम्पनीको २०८३ असोज ३० गते बसेको सञ्चालक समितिको बैठकबाट आफूलाई सञ्चालक पदबाट हटाइएको निर्णयप्रति समेत आपत्ति प्रकट गर्दै आफू कानुनी प्रक्रियामा जाने बताएका छन् ।
उनका अनुसार कम्पनीको २०८३ जेठ ३१ गते सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाबाट उनी चार वर्षका लागि निर्विरोध सञ्चालक निर्वाचित भएका थिए । तर, आफूलाई बैठकमा सहभागी नगराई सञ्चालक पदबाट हटाउने निर्णय गरिएको भन्दै उनले त्यसको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार सञ्चालक नियुक्ति, निर्वाचन र पदमुक्त गर्ने प्रक्रिया पूरा हुनुपर्ने उनको भनाइ छ । यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत उजुरी तथा असहमति प्रस्तुत गरिसकेको उनले जानकारी दिएका छन् ।

रु.२ अर्बको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिन माग
सापकोटाले कम्पनीको अर्काे प्रस्तावित वित्तीय योजनामाथि पनि प्रश्न उठाएका छन् । एउटा आयोजनाको वित्तीय व्यवस्थापन तथा काम अघि बढाउने प्रक्रिया पूरा नभई अर्काे कम्पनीमा लगानी गर्ने उद्देश्यले दुई अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका छन् । उनले पर्याप्त जानकारी र पारदर्शिताबिना शेयर जारी गर्ने निर्णयले आम नागरिक तथा लगानीकर्तालाई भ्रममा पार्न सक्ने भन्दै शेयरधनीलाई वास्तविक वित्तीय अवस्था बुझेर मात्र लगानी गर्न उनले आग्रह गरेका छन् ।
शेयरधनीको लगानी संरक्षण गर्न आग्रह
सापकोटाले कम्पनीका सम्पूर्ण निर्णय पारदर्शी, जवाफदेही र कानुनसम्मत हुनुपर्ने माग गरेका छन् । पर्याप्त प्राविधिक, वित्तीय तथा कानुनी अध्ययनबिना गरिएको भनिएको पाँच करोड रुपैयाँको भुक्तानी फिर्ता गर्नुपर्ने, आफूलाई बैठकमा सहभागी नगराई गरिएका निर्णय पुनरावलोकन तथा खारेज गर्नुपर्ने र दुई अर्ब रुपैयाँको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिनुपर्ने उनको माग छ ।
उनले यो विवाद व्यक्तिगत पद वा स्वार्थसँग सम्बन्धित नभई कम्पनीको सुशासन, आर्थिक अनुशासन र हजारौँ शेयरधनीको लगानी सुरक्षासँग जोडिएको विषय भएको बताएका छन् ।
कम्पनीको सम्पत्ति र शेयरधनीको लगानी संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गर्दै उनले शेयरधनी, लगानीकर्ता, सरोकारवाला तथा स्थानीय सरकारलाई समेत कम्पनीको आर्थिक अवस्था र निर्णय प्रक्रियाबारे चासो राख्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ