इनम सापकोटाको आरोप : चोलेन्द्रशमशेर, गगन थापा र मीनबहादुर गुरुङविरुद्ध बयान दिन दबाब दिइयो

इनम सापकोटाको आरोप : चोलेन्द्रशमशेर, गगन थापा र मीनबहादुर गुरुङविरुद्ध बयान दिन दबाब दिइयो

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूलाई विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरुद्ध बयान दिन दबाब र धम्की दिइएको आरोप लगाएका छन्। प्रहरीले आफूले तयार पारेको सामग्री पढ्न लगाएर अडिओ रेकर्ड गरेको र त्यसलाई काटछाँट गरी सार्वजनिक गरेको उनको दाबी छ।

सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराउँदै आफ्नो र परिवारको जिउज्यानको सुरक्षा माग गरेकी छन्। निवेदनमा सापकोटाले पक्राउ परेदेखि प्रहरी हिरासतमा रहँदासम्म भोगेका घटनाक्रम र प्रहरीमाथि लगाएका विभिन्न आरोप उल्लेख गरेका छन्।

सापकोटाका अनुसार गत असोज १४ गते भारतको नयाँदिल्ली जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि दुईवटा मोबाइल फोन खोसेर आँखामा कालोपट्टी बाँधी अज्ञात स्थानमा लगिएको उनले बताएका छन्।

असोज १४ देखि १५ गते साँझसम्म आफूलाई कहाँ राखिएको हो भन्ने जानकारी नदिइएको र आँखामा पट्टी बाँधेरै विभिन्न व्यक्तिबारे सोधपुछ गरिएको उनको भनाइ छ। पक्राउको कारणसमेत नबताइएको र परिवारलाई जानकारी गराउन गरिएको आग्रह प्रहरीले बेवास्ता गरेको उनले निवेदनमा उल्लेख गरेका छन्।
चोलेन्द्रशमशेरदेखि गगन थापासम्मका व्यक्तिविरुद्ध बयान दिन दबाब
सापकोटाले सोधपुछका क्रममा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिएको आरोप लगाएका छन्।

ती व्यक्तिविरुद्ध बयान दिए आफूलाई रिहा गर्ने, नदिए आफू र आफ्नो परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको उनको दाबी छ।

आफूले तीमध्ये केही व्यक्तिसँग राम्रो व्यक्तिगत सम्बन्ध रहेको, केही आफ्ना गुरुसमेत रहेको र केहीलाई चिन्दै नचिनेको बताएका छन्। उनीहरूका गतिविधिबारे आफूलाई जानकारी नभएकाले अरूविरुद्ध अनाहकमा बयान दिन नसक्ने बताउँदा पनि प्रहरीले निरन्तर दबाब दिएको सापकोटाको भनाइ छ।
प्रहरीले तयार पारेको सामग्री पढ्न लगाएर अडिओ रेकर्ड गरेको आरोप
सापकोटाले आफूले बयान दिन अस्वीकार गरेपछि प्रहरीले तयार पारेको लिखित सामग्री पढ्न लगाएको आरोपसमेत लगाएका छन्।

उनका अनुसार प्रहरीले ‘हामीले यहाँ लेखेको कुरा पढ्नुस्, यसमा सहमति भए कागज गराएर छोडिदिन्छौं’ भन्दै आँखाको पट्टी केही माथि सारेको थियो। त्यसपछि सबैले सुन्ने गरी ठूलो स्वरमा उक्त सामग्री पढ्न लगाइएको र बीचबीचमा रोकेर बिस्तारै पढ्न निर्देशन दिइएको उनले बताएका छन्।

त्यसरी पढिसकेपछि तयार पारिएको कागजमा आफूलाई जानकारी नभएका र आफूले नगरेका कुरा उल्लेख भएकाले हस्ताक्षर गर्न अस्वीकार गरेको उनको भनाइ छ। त्यसपछि पुनः आँखामा पट्टी बाँधेर अर्को स्थानमा लगिएको र अन्ततः काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको उनले निवेदनमा उल्लेख गरेका छन्।
सार्वजनिक अडिओ प्रहरीकै रेकर्ड भएको दाबी
पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको सेटिङसम्बन्धी विषयमा सार्वजनिक भएका अडिओ आफूलाई प्रहरीले पढ्न लगाएको सामग्रीकै रेकर्ड भएको सापकोटाको दाबी छ।

आफूले भन्दै नभनेका र जानकारीसमेत नभएका विषयलाई प्रहरीले रेकर्ड गरी काटछाँट गरेर सार्वजनिक गरेको उनको आरोप छ। उक्त अडिओ सार्वजनिक भएपछि मात्रै आफूले पढेको सामग्री रेकर्ड गरिएको रहेछ भन्ने थाहा पाएको उनले बताएका छन्।

अडिओ परीक्षणका नाममा प्रहरीले आफ्नो आवाजबारे पुनः सोधपुछ गरेको र त्यसैलाई आधार बनाएर मानसिक दबाब तथा यातना दिने गरेको पनि उनले आरोप लगाएका छन्।
मोबाइलमा छेडखानी गरी प्रमाण सिर्जना गरेको आरोप
सापकोटाले आफूबाट खोसिएका मोबाइल फोन दुई दिनसम्म अन्य अनधिकृत व्यक्तिको हातमा पुर्‍याइएको र त्यसमा छेडखानी गरी आफूलाई फसाउने प्रमाण सिर्जना गरिएको आरोप लगाएका छन्।

एआईबाट सिर्जना गरिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको भन्ने जानकारी आफन्त तथा कानुन व्यवसायीबाट पाएको उनले निवेदनमा उल्लेख गरेका छन्।

अनुसन्धानका सामग्री बाहिर चुहाउने, झूटा प्रमाण तयार पार्ने तथा त्यसमा संलग्न अनुसन्धान अधिकारी र अन्य व्यक्तिमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न उनले मानवअधिकार आयोगसँग माग गरेका छन्।
घर खानतलासी र बरामदी मुचुल्कामा पनि प्रश्न
सापकोटाले असोज १६ गते प्रहरीले आफूलाई हथकडी लगाएर काठमाडौंको पानीपोखरीस्थित अपार्टमेन्टमा खानतलासीका लागि लगेको बताएका छन्।

उनका अनुसार प्रहरीले विमानस्थलबाट आफूले लगेका दुईवटा सुटकेस घरको आँगनमा राखेर पछि भित्र ल्याएको थियो। घर खानतलासी गर्दा पुरानो ल्यापटप, फोन र केही कागजात मात्रै फेला परेको तर सुटकेसभित्र रहेको विदेशी मुद्रा घरबाट बरामद भएको भन्दै मुचुल्का तयार पारिएको उनको आरोप छ।

त्यसैगरी, दुई दिनअघि विमानस्थलमा आफूबाट खोसिएको आइफोनसमेत घरबाट बरामद भएको भनी मुचुल्कामा उल्लेख गर्न खोजिएको उनले बताएका छन्। आफन्तले त्यसबारे प्रश्न उठाएपछि प्रहरीले उक्त विवरण नराखी मुचुल्का तयार पारेको उनको दाबी छ।
पक्राउको स्थान र घटनाबारे सिसिटिभी जाँच गर्न माग
सापकोटाले प्रहरीले आफूलाई विमानस्थलअगाडिको सार्वजनिक सडकबाट पक्राउ गरिएको र महिलालगायत सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा अघि बढाएको विवरणसमेत गलत रहेको जिकिर गरेका छन्।

आफूलाई विमानस्थलभित्रै अन्तिम सुरक्षा जाँचस्थलबाट पक्राउ गरिएको भन्दै उनले विमानस्थलको सिसिटिभी फुटेज झिकाएर अनुसन्धान गर्न माग गरेका छन्। आफूले कसैमाथि अभद्र व्यवहार नगरेको उनको दाबी छ।
विदेशी मुद्रा र सम्पत्ति शुद्धीकरणको मुद्दा थपिएको गुनासो
सापकोटाका अनुसार अभद्र व्यवहारको आरोप अस्वीकार गरेपछि प्रहरीले आफूसँगबाट एक हजार तीन सय अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै विदेशी मुद्रासम्बन्धी कसुरमा म्याद थपका लागि अदालतमा पेस गरेको थियो।

उनका कानुन व्यवसायीले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र, २०८२ अनुसार नेपाली नागरिकले साथमा राख्न पाउने विदेशी मुद्रा नै आफूले बोकेको जिकिर गरेका थिए। त्यसपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपिएको सापकोटाको भनाइ छ।
मिडिया ट्रायल गरिएको आरोप
सापकोटाले अनुसन्धानका क्रममा प्राप्त सामग्री सञ्चारमाध्यममा चुहाएर आफूलाई दोषीसरह प्रस्तुत गरिएको गुनासो गरेका छन्।

आफूमाथिका आरोप प्रमाणित नहुँदै देशकै ठूलो बिचौलिया र फिक्सरजस्ता उपनाम दिएर सार्वजनिक रूपमा बदनाम गरिएको उनको भनाइ छ। यसले संविधानले सुनिश्चित गरेको निर्दोषिताको अनुमान, स्वच्छ सुनुवाइ र गोपनीयताको हकसमेत प्रभावित भएको उनले निवेदनमा उल्लेख गरेका छन्।

आफू र परिवारको जिउज्यानमाथि खतरा रहेको भन्दै सापकोटाले मानवअधिकार आयोगसँग घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही र आफ्नो परिवारको सुरक्षाको व्यवस्था गर्न माग गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ