म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

  • बुधबार, मंसिर ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

म्याग्दी, ९ मङ्सिरः म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै भित्र्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको हो ।

गत असोजको झरीपछि आएको बाढीपहिरोले केही स्थानमा धानखेत पुरिए पनि जिल्लाको समग्र उत्पादनमा उल्लेख्य असर परेको छैन । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव आठ मेट्रिकटनका दरले कुल १४ हजार ४६२ दशमलव आठ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव सात मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

कृषि प्रसार अधिकृत कल्पना पुनका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको बाली कटानी विधिबाट उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको हो । म्याग्दीमा गौरिया, गुडुरा, जेठो बुढो, जनर्ली, पहेँले, मार्सी, शङ्कर र युएस ३१२ जातका धानखेती हुँदै आएको छ ।

लेखाली क्षेत्रका किसानले भिरालो जमिनमा पनि खेती गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान लगाउने गरेका छन् । पछिल्लो समय उन्नत जातप्रति किसानको आकर्षण बढेसँगै घैया, गौरिया र अन्दी जस्ता रैथाने जातको खेती घट्दै गएको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दाना क्षेत्रमा धानखेती हुँदै आएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा अन्नपूर्ण गाउँपालिकाको शिखमा चिसोका कारण धानखेती हुँदैन ।

मङ्गला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकुमारी भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन भएको बताउनुभयो । गत वर्ष उहाँले ५५ मुरी धान उत्पादन गर्नुभएको थियो । मौसम अनुकूल भएकाले यस वर्ष उत्पादन बढेको उहाँको भनाइ छ ।

रैथाने जातको खेती घट्दै जानु र धानखेतीको क्षेत्रफल विस्तार हुन नसक्नु जिल्लामा धान उत्पादनका प्रमुख चुनौती रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ