काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क लगानी गर्न र विद्यमान लगानी विस्तार गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित नेपाल–भारत निजी क्षेत्रको संयुक्त कार्यक्रममा यस्तो आह्वान गरेका हुन्।
नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए।
नेपालमा नयाँ लगानी भित्र्याउन तथा भइरहेको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै अर्थमन्त्री वाग्लेले नेपाल लगानीका लागि उर्वर वातावरण र पर्याप्त सम्भावना भएको मुलुक रहेको बताए।
उनले भने, ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु। नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’
अर्थमन्त्री वाग्लेले नेपाल सरकारले लगानी अभिवृद्धिका लागि कानुनी सुधारलाई सरल, सहज र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे। लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र भारतीय उद्योग परिसंघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी तथा व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।