काठमाडौं । नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो।
गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेको हो। असार मसान्तमा नेपालसँग ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको थियो।
अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति बढेको छ। असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि हुँदै २७ अर्ब ३९ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो।
त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा बढेर ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
असोज मसान्तको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि थप मजबुत बनेको छ। राष्ट्र बैंकका अनुसार असोज मसान्तमा कायम विदेशी मुद्रा सञ्चितिले १९.९ महिनाको वस्तु आयात धान्न पर्याप्त हुनेछ।
वस्तु तथा सेवा दुवैको आयातलाई आधार मान्दा भने उक्त सञ्चितिले १७.२ महिनाको आयात धान्न सक्नेछ। यसले नेपालको बाह्य भुक्तानी क्षमता र आयात धान्न सक्ने अवस्थालाई मजबुत बनाएको संकेत गर्छ।
असोज मसान्तको विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६३ प्रतिशत बराबर रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कुल आयातको तुलनामा १४३.७ प्रतिशत र विस्तृत मुद्रा प्रदायको तुलनामा ४४.८ प्रतिशत रहेको छ।