प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

  • सोमवार, मंसिर ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

नयाँ दिल्ली (भारत), ७ मङ्सिरः प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गर्नुभएको हो ।

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ६७ करोड रहेको छ । निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ ।

आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ ।

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो ।

आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ ।

आयोजना निर्माणका लागि जग्गा अधिग्रहण तथा प्रभावित परिवारलाई मुआब्जा वितरणको काम अघि बढाइएको छ । आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवार रहेकामा हालसम्म २५३ परिवारलाई करिब रु ९९ करोड ९८ लाख मुआब्जा वितरण गरिएको आयोजना विकास कम्पनीले जनाएको छ ।

आयोजनाबाट नेपालले निःशुल्क ऊर्जा, रोयल्टी, कर तथा अन्य आर्थिक लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ । निर्माणका क्रममा रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ