काठमाडौं । खिचापोखरी, न्यूरोडस्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलमा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको छ ।
२०औँ वर्षको यात्रामा प्रवेश गरेको संस्थाले आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ । प्रस्तुत प्रतिवेदनअनुसार १ हजार ९ सय ७५ शेयर सदस्य आबद्ध रहेको संस्थाको कुल शेयर पुँजी करिब ८ करोड रुपैयाँ पुगेको छ । संस्थाले ७५ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी करिब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।
संस्थाले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसारको लेखा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । साथै प्रदेश सहकारी रजिष्टारको कार्यालय, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) सम्बन्धी नियामक निर्देशनहरूको अक्षरशः पालना गर्दै संस्थागत सुशासन सुदृढ बनाएको संस्थाले जानकारी दिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले १९औँ स्थापना दिवसको अवसरमा बृहत् रक्तदान, ४० वर्षमाथिका पुरुष सदस्यका लागि निःशुल्क प्रोस्टेट क्यान्सर परीक्षण शिविर, पदयात्रा, वार्षिक मनोरञ्जन तथा सहभोज कार्यक्रम २०८२, मानव सेवा आश्रममा आश्रितहरूलाई खाना खुवाउने कार्यक्रम तथा साना तथा मझौला व्यवसायी सदस्यहरूको व्यावसायिक प्रवर्द्धनका लागि ‘चिट्कोल डिजिटल क्याटालिस्ट’ डिजिटल मार्केटिङ तालिम जस्ता कार्यक्रम सम्पन्न गरेको छ ।
साधारण सभाले कार्यवाहक अध्यक्ष अमरेश चन्द्र बैदारको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण बहादुर बस्नेतको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण बहादुर गुभाजुद्वारा प्रस्तुत बाह्य लेखापरीक्षण प्रतिवेदन (वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण) अनुमोदन गरेको छ । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम, अनुमानित बजेट तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित भएको छ । सभाले गैरबैंकिङ तथा संस्थाको नाममा रहेको सम्पत्ति बिक्री, निष्क्रिय सदस्य तथा भाखा नाघेको ऋण व्यवस्थापन, अन्य सहकारी संस्थालाई एकीकरण गर्ने र बहुउद्देश्यीय प्रकृतिको व्यवसाय सञ्चालन सम्भाव्यता अध्ययन गर्ने लगायतका विशेष प्रस्तावहरू समेत पारित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीले चुनौतीपूर्ण आर्थिक परिवेशमा पनि चाइना ट्रेड सहकारीले सदस्य, शेयर र बचतमा गुणात्मक वृद्धि गर्न सफल भएको बताएका छन् । एनएफआरएस प्रणालीको कार्यान्वयन, नियामक अनुशासन र सामाजिक उत्तरदायित्वमा संस्थाले देखाएको सक्रियता अन्य सहकारीका लागि अनुकरणीय रहेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले चाइना ट्रेड सहकारी न्यूरोड क्षेत्रको स्थानीय विकास साझेदार, उद्यमशीलताको प्रवर्तक र समृद्धिको सहयात्री बनेको धारणा राखेका छन् । सभामा वरिष्ठ सहकारी विज्ञ कुबेर निरौलाले सफल सहकारीका लागि सदस्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले संस्थाको २०औँ वर्षको यात्रामा साथ दिने सम्पूर्ण शेयर सदस्य, नियामक निकाय र कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । आगामी दिनमा परिष्कृत डिजिटल सेवामार्फत सदस्य समर्पित अग्रणी सहकारीको परिकल्पना र आर्थिक सशक्तीकरण तथा नवप्रवर्तनमार्फत सदस्य समृद्धिमा योगदान पुर्याउने ध्येय हासिल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । २९ जना संस्थापक सदस्यबाट सुरु भएको यस संस्थाले हाल न्यूरोड, खिचापोखरीस्थित आफ्नै आधुनिक भवनबाट प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।