काठमाडौं । टीभीएस मोटर कम्पनी (टीभीएसएम) ले नेपालमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ । विश्वको तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता तथा दुई र तीनपाङ्ग्रे सवारीसाधन क्षेत्रको विश्वव्यापी अग्रणी कम्पनी टीभीएसएमले शुक्रबार काठमाडौंमा उक्त शोरुम उद्घाटन गरेको हो । शोरुमको उद्घाटन टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा गरेका छन् ।
शोरुम उद्घाटनका अवसरमा भव्य बाइक र्याली आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत बाढीप्रभावित समुदायका विभिन्न संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ । सुगन्धा सिंह र अश्विनले साँचो हस्तान्तरण गर्नुभएको सो कार्यक्रमबाट नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल (नुवाकोट), विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय, आमाछोदिङ्मो सरकारी अस्पताल, उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र उत्तरगया सरकारी अस्पताल लाभान्वित भएका छन् । कार्यक्रममा जगदम्बा मोटर्स तथा लाभान्वित संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । विपद्बाट प्रभावित समुदायको सेवा-पहुँच र पुनःस्थापना प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले सवारीसाधन हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कलाकार सौगात तामाङले विशेष रूपमा कस्टमाइज गर्नुभएको हेल्मेटसमेत प्रस्तुत गरिएको थियो । टीभीएसको प्रिमियम ब्रान्ड पहिचानलाई नेपाली कला र सिर्जनशीलतासँग जोड्ने प्रयासस्वरूप उक्त हेल्मेट तयार पारिएको हो ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले टीभीएसएमको अन्तर्राष्ट्रिय विस्तार यात्रामा नेपाल महत्वपूर्ण बजार रहेको बताएका छन् । नेपालमा उपस्थिति बलियो बनाउन र ग्राहकसँगको सम्बन्ध अझ गहिरो बनाउन केन्द्रित रहेको उल्लेख गर्दै उनले पहिलो प्रिमियम तथा ईभी शोरुम उद्घाटनले निरन्तर लगानी र ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्ने प्रतिबद्धता झल्काउने बताए । सवारीसाधन उपलब्ध गराउनुका साथै समुदायमा सकारात्मक प्रभाव पार्ने दायित्व पूरा गर्न बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ वटा सवारीसाधन हस्तान्तरण गरिएको उनको भनाइ छ ।
विश्वका ९० भन्दा बढी देशमा उपस्थिति रहेको टीभीएसएमले नेपालमा जगदम्बा मोटर्ससँगको सहकार्यमा विगत १५ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले १५ वर्ष लामो सहकार्य नेपाली बजारको विकास यात्राको महत्वपूर्ण हिस्सा बनेको बताएका छन् । बिक्रीपछिको सेवा, सेवासम्बन्धी पहल र स्थानीय समुदायसँगको पहुँच कार्यक्रममार्फत ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले सवारीसाधन हस्तान्तरणले समुदायको आधारभूत तहमा काम गरिरहेका संस्थालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । नयाँ शोरुम सञ्चालनले साझेदारीमा अर्को उपलब्धि थपेको र देशमा ब्रान्डको उपस्थिति तथा ग्राहक अनुभव सुदृढ बनाउने साझा लक्ष्य प्रतिबिम्बित गरेको उनले बताए ।
नवनिर्मित शोरुममा टीभीएसका प्रिमियम मोडल र विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध गराइएको छ । साथै प्रिमियम बाइकका लागि अधिकृत गियर, एक्सेसरीज र कस्टमाइज गरिएका हेल्मेटसमेत शोरुममा राखिएका छन् । शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४ भी यू.एस.डी. प्रोजेक्टर, अपाचे आरटीआर १६० ४ भी यू.एस.डी. प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुने कम्पनीले जनाएको छ ।