काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजार नजिकै आज बिहान ना १ ज २१४३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त सुमो बिहान साढे ८ बजेतिर त्रिभुवन राजपथबाट नियन्त्रण गुमाई राप्ती खोलामा खसेको हो। दुर्घटनाका घाइतेहरूलाई तत्काल हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
मृतकहरूमा दुई महिला र एक पुरुष रहेका छन्। उनीहरूको पहिचान खुल्न बाँकी छ। अस्पतालमा उपचाररत अन्य सात जना घाइतेको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताए। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
यसअघि गत कात्तिक २६ गते पनि भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।