बझाङ: बझाङको बुङ्गल नगरपालिका–१० मा सोमबार बिहान भएको अटो दुर्घटनामा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ।
बुङ्गल–१० टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो सडकबाट करिब ९०० मिटर तल खस्दा ३५ वर्षीया राजमती महरा, उनकी २ वर्षीया छोरी रियासा, ६ वर्षीय छोरा रियास र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको हो।
अटोमा सवार अन्य दुई जना भने सकुशल रहेका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर जोराका अनुसार अटोको एक्कासि ब्रेक फेल भएपछि चालक टेकबहादुर पातलीले अगाडिको सिटमा आफूसँगै बसेका १३ वर्षीय बालक विक्रम महरालाई तानेर हाम फालेका थिए।
तिहार मनाउन गाउँ आएकी राजमती डडेल्धुरामै अध्ययनरत छोरा र भतिजीलाई लिएर मंगलबार खुल्ने विद्यालय जानका लागि सोमबार बिहान डडेल्धुरातर्फ प्रस्थान गरेकी थिइन्। उनका श्रीमान् दीपक महरा (शिक्षक) को साउन महिनामा मात्रै बझाङ सरुवा भएको थियो।