सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित अर्नामा छठ घाटमा तोडफोड भएपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी छठ पर्व विधिपूर्वक सम्पन्न गरिएको छ।
रातिको समयमा असामाजिक तत्वबाट तोडफोड गरिएको घाटलाई सुरक्षाकर्मी तथा जनप्रतिनिधिको सक्रियतामा पुनः निर्माण गरिएपछि सोमबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको समापन गरेका हुन्।
छठ पर्वको अन्तिम दिन बिहानै अर्नामा छठ घाटमा व्रतालु तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। उनीहरूले परम्पराअनुसार उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका थिए।
छठ पूजाको समापनपछि घाट परिसरमा प्रसाद ग्रहण कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्ल, सुरक्षाकर्मी तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारीसहित स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरी प्रमुख मल्ल तथा जनप्रतिनिधिहरूले व्रतालु र श्रद्धालुसँगै प्रसाद ग्रहण गरेका थिए।
यसअघि छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी श्रद्धालुहरू घर फर्किएपछि कात्तिक २९ गते राति करिब ७ः३० बजे सुनसरी खोलाको किनारमा निर्माण गरिएको अर्नामा छठ घाटमा तोडफोड भएको थियो। केही व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरी क्षति पुर्याएको घटनाले स्थानीय क्षेत्रमा चिन्ता र आक्रोश पैदा गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन्।
घटना सार्वजनिक हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको थियो। सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूले स्थानीय प्रशासनसँग समन्वय गरी मध्यरातमै क्षतिग्रस्त छठ घाटको पुनर्निर्माण गरेका थिए। रातारात घाटलाई पूजाका लागि तयार पारिएपछि बिहानको धार्मिक अनुष्ठान निर्धारित समयमै सम्पन्न गर्न सम्भव भएको थियो।
घटनापछि सम्भावित अप्रिय अवस्था रोक्न घाट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनामाथि घटनाको कारण तथा संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यसैबीच, धार्मिक आस्था र सामुदायिक सद्भावसँग जोडिएको छठ पूजास्थलमा भएको तोडफोडप्रति विभिन्न सरोकारवालाहरूले भर्त्सना गरेका छन्। उनीहरूले धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिँदै घटनामा संलग्न दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
घाटमा भएको तोडफोडपछि पनि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको समन्वयमा पुनर्निर्माण गरी छठ पर्व सम्पन्न हुनु धार्मिक आस्था, सामाजिक सहकार्य र सामुदायिक एकताको सन्देशका रूपमा हेरिएको छ।