पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

  • मङ्लबार, मंसिर १, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

मोरङ, १ मङ्सिरः जाडोयाम सुरु भएसँगै मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बिहानैदेखि तातो भक्काको बाफ र बास्ना फैलिन थाल्छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको गेटछेउमा विगत २२ वर्षदेखि भक्का बनाएर बिक्री गर्दै आउनुभएकी डाँगीहाट निवासी माल्दा राजवंशीको दैनिकी यतिबेला व्यस्त छ ।

राजवंशी प्रत्येक वर्ष जाडोयाममा दैनिक लक्ष्मीमार्ग आएर भक्का बिक्री गर्नुहुन्छ । बाइस वर्षअघि प्रतिगोटा रु एकमा बिक्री गर्न सुरु गरेको भक्काको मूल्य अहिले बढेर रु १० पुगेको उहाँले बताउनुभयो । चामल, दाउरा तथा अन्य सामग्रीको मूल्य बढेकाले भक्काको मूल्य पनि बढाउनुपरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार दैनिक करिब पाँच केजी चामलबाट तयार गरिएको भक्का बिक्री हुने गरेको छ । एक केजी चामलको पिठोबाट करिब २० वटा भक्का तयार हुन्छन् । जाडोयाममा बिहानको खाजाका रूपमा तातो भक्का रुचाउने ग्राहक धेरै हुने भएकाले दैनिक उत्पादन सहजै बिक्री हुने उहाँले बताउनुभयो ।

राजवंशी समुदायको मौलिक परिकारका रूपमा चिनिने भक्का पछिल्लो समय पूर्वी तराईका चोक तथा बजारमा लोकप्रिय खाजा बनेको छ । चामलको पिठोलाई बाफमा पकाएर तयार गरिने यो परिकार स्थानीय तथा यात्रुको रोजाइमा पर्ने गरेको छ ।

नेपालको पूर्वी तराई तथा भित्री मधेसमा बसोबास गर्ने राजवंशी, थारू र मेचेलगायत आदिवासी समुदायको मौलिक परिकार भक्का अहिले सबै जातजाति र वर्गका मानिसको साझा खाजा बनेको छ । पहिले घरमा मात्र बनाइने यो परिकार पछिल्लो समय व्यावसायिक रूपमा विस्तार हुँदै सडकका ठेलादेखि साना होटलसम्म बिक्री हुन थालेको छ ।

विशेषगरी झापा, मोरङ र सुनसरीका चोक तथा बजारमा जाडोयाम लक्षित भक्का व्यवसाय सञ्चालन गर्ने परिवारको सङ्ख्या बढेको छ । चामल भिजाएर सुकाएपछि ओखल वा मिलमा पिँधेर तयार पारिएको मोटो पिठोलाई माटोको सानो हाँडीमा राखी बाफमा पकाएर भक्का बनाइन्छ । कपडाले छोपेर केही मिनेट बाफमा पकाएपछि तयार हुने भक्का नरम र सेतो हुन्छ ।

लक्ष्मीमार्गका स्थानीय स्वास्थ्यकर्मी नवराज ढकालका अनुसार भक्कालाई तातोपानी, घिउ, खुर्सानीको अचार तथा नरिवल वा तिलको धुलोसँग खाँदा स्वादिलो हुन्छ ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिसमेत रहनुभएका नवराज बस्नेतका अनुसार जाडो बढेसँगै भक्का बिक्रीबाट दैनिक हजारौँ रुपैयाँसम्म आम्दानी हुने गरेको छ । यसले न्यून आय भएका परिवारलाई हिउँदमा आर्थिक सहारा दिएको छ । विशेषगरी महिलाहरू यस व्यवसायमा आकर्षित भएका छन् । घरायसी कामसँगै केही घण्टा भक्का बनाएर बिक्री गर्दा आम्दानी हुन थालेपछि स्थानीय गृहिणीहरूको यस पेसाप्रति आकर्षण बढेको उहाँले बताउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ