काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने मोडल बनेको छ। सन् २०२६ को अक्टोबरमा यस मोडलले मलेसियाको कुल ईभी बजारको झण्डै आधा हिस्सा ओगट्दै उल्लेखनीय सफलता हासिल गरेको हो।
अक्टोबरमा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या मलेसियामा उक्त महिना दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो। सो अवधिमा मलेसियामा कुल ४ हजार ५९२ वटा ईभी दर्ता भएका थिए।
यद्यपि, अक्टोबरमा मलेसियाको समग्र ईभी दर्ता अघिल्लो महिनाको तुलनामा २३.८ प्रतिशतले घटेको छ। यो सन् २०२६ को फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो। बजारमा समग्र गिरावट देखिए पनि प्रोटोन ई.मास ५ ले भने आफ्नो अग्रता कायम राख्न सफल भएको छ।
यसैगरी, प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। ई.मास ५ र ई.मास ७ गरी यी दुई मोडलको संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ।
अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ। यो पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो। यस वर्ष दोस्रो पटक हाइब्रिड सवारीको दर्ता ईभीभन्दा माथि पुगेको हो। यसले मलेसियाको वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको बदलिँदो रुचि र बजार प्रवृत्तिलाई संकेत गरेको छ।
मलेसियामा ई.मास ५ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारी बजारमा बढ्दो प्रभावलाई देखाएको छ। नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले प्रोटोनका विद्युतीय सवारीको आधिकारिक वितरकका रूपमा बिक्री गर्दै आएको छ।
नेपालमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित आएको यस गाडीमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टिलिंक सस्पेन्सन र ८५ किलोवाटको मोटर रहेको छ। यसमा ४० किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री तथा भेहिकल टु लोड (भीटूएल) सुविधा पनि उपलब्ध छ।
गाडीमा ७० लिटर क्षमताको फ्रन्ट ट्रंक, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट छन्। त्यस्तै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा दिइएको छ। नेपालमा ई.मास ५ को सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा ४१० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२ इन १ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ।
ई.मास ७ मा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेडअप डिस्प्ले र भीटूएल सुविधा पनि उपलब्ध छन्। यसको नेपाली बजारमा सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ।
जगदम्बा मोटर्सका बारेमा
जगदम्बा मोटर्स प्रालि नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक हो। नेपाली ग्राहकलाई आधुनिक अटोमोटिभ प्रविधिसँग परिचित गराउँदै गुणस्तरीय सवारीसाधन तथा सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले काम गर्दै आएको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार र ग्राहककेन्द्रित सेवामार्फत नेपाली बजारमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य राखेको छ।
शंकर ग्रुपका बारेमा
नौ दशकभन्दा लामो व्यावसायिक इतिहास बोकेको शंकर ग्रुप नेपालका प्रतिष्ठित व्यावसायिक समूहहरूमध्ये एक हो। सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापित यस समूहले विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालमा मुख्यालय रहेको यस समूहअन्तर्गत विभिन्न क्षेत्रका ४० वटा कम्पनी सञ्चालनमा छन्।