प्रहरीको गोली लागेर घाइते फेटाका १५ वर्षीय किशोरलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

प्रहरीको गोली लागेर घाइते फेटाका १५ वर्षीय किशोरलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

  • आइतवार, कार्तिक १५, २०८३
  • दिपक चौरसिया

  • 779
    SHARES

पर्सा १५ कार्तिक । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय किशोर आदित्य पासवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका अन्दाजी १५ वर्षीय छोरा आदित्यलाई आइतबार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको हो। घाइते किशोरसँगै उनका बुवा धर्मेन्द्र पासवान, ठूलो बुवा र दाइसमेत काठमाडौं गएका छन्।

शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच विवाद उत्पन्न भएको थियो। विवाद चर्किँदै गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर आदित्य घाइते भएका थिए।

घटनापछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकले शल्यक्रिया गरी उनको शरीरमा लागेको गोली निकालेका थिए। शल्यक्रियापछि पनि थप उपचार आवश्यक देखिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।

अस्पतालमा आवश्यक सुविधा माग्दै स्थानीयको प्रदर्शन
स्थानीयवासीले नवनिर्मित अस्पतालमा आवश्यक पूर्वाधार, चिकित्सक, नर्स, शय्या तथा अन्य स्वास्थ्य सेवा उपलब्ध नगराई उद्घाटन गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेका थिए।

स्थानीयको माग अस्पताल भवनको उद्घाटन मात्र नभई आवश्यक जनशक्ति र सम्पूर्ण स्वास्थ्य सेवा सञ्चालनको सुनिश्चितता हुनुपर्ने थियो। यही विषयलाई लिएर सुरु भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै करिब नौवटा मोटरसाइकलमा आगजनी गरिएको थियो। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका थिए। घटनापछि गाउँपालिकाको अस्पताल उद्घाटनसम्बन्धी विवादले थप संवेदनशील रूप लिएको छ।

घटनाको छानबिन गर्न तीन सदस्यीय प्रहरी टोली गठन
यसैबीच, फेटामा भएको विवाद, प्रदर्शन र प्रहरीसँगको झडपबारे स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्।
समितिलाई घटनास्थलको स्थलगत अध्ययन तथा छानबिन गरी घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख परिवर्तन
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट मुक्त गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।

लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा पठाइएको एसपी कुँवरले बताएका छन्।

प्रहरीको गोली लागेर एक किशोर गम्भीर घाइते भएको घटनापछि छानबिन समिति गठन र प्रहरी नेतृत्व परिवर्तन गरिएको छ। अब छानबिन समितिको प्रतिवेदनले घटनाको कारण, झडपको अवस्था तथा गोली चलेको परिस्थितिबारे थप तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ