सिन्धुली / सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना नदीमा बेपत्ता भएका छन् भने चालकसहित चार जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको टाटा सुमो गएराति करिब २:३० बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा परेर मृत्यु हुने तीनै जना महिला हुन्। घटनास्थलबाट उनीहरूको शव फेला परे पनि हालसम्म सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका चारै जनालाई उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ। घाइते हुनेहरूमा सुमो चालक ओखलढुङ्गाका २९ वर्षीय आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्दछ। हाल खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर बेपत्ताहरूको खोजी, उद्धार तथा घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।