नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

  • शनिबार, कार्तिक १, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

काठमाडौँ, ३१ असोज : नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ ।

वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताउनुभयो । नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप बढेको र त्यसलाई ट्राफिक प्रहरीले सहज रूपमा व्यवस्थापन गरिरहेको बताउनुभयो ।

कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । उहाँका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु काठमाडौँबाट बाहिरिएका छन् ।

काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरीएका हुन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताउनुभयो ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ