२५ असोज, २०८३ (११ अक्टोबर, २०२६)
काठमाडौँ। कप्तान रोहित पौडेलको उत्कृष्ट शतकीय पारिको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाअन्तर्गत क्यानडासामु २३६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमारात क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक १०१ रनको योगदान दिनुभयो। उहाँले १२७ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतमा आफ्नो शतक पूरा गर्नुभएको हो। त्यसै गरी विस्फोटक ब्याटिङ गर्नुभएका गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्काको सहयोगमा महत्वपूर्ण ४८ रन जोड्नुभयो। मध्यक्रमका ब्याटर बसिर अहमदले ३० रनको उपयोगी पारि खेल्नुभयो।
यसअघि ओपनिङमा आएका अर्जुन कुमालले ५४ बलमा २३ रन जोड्नुभएको थियो भने अर्का ओपनर आसिफ शेख ३ बलमा ४ रन बनाएर अखिल कुमारको बलमा क्याच आउट हुनुभएको थियो। इसान पाण्डे शून्यमै पेभेलियन फर्किनुभयो भने करण केसीले आठ र दीपेन्द्रसिंह ऐरीले छ रन मात्र जोड्न सक्नुभयो। क्यानडाका तर्फबाट घातक बलिङ गर्दै अखिल कुमारले चार विकेट, सुखजिन्दर सिंहले तीन विकेट र जाहिद सिरजादले दुई विकेट लिनुभएको थियो।