काठमाडौं । खानामा किरा भेटिएको गुनासोको आधारमा गरिएको अनुगमनका क्रममा गम्भीर कैफियत भेटिएपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई अढाई लाख रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत प्राप्त उजुरी गुनासोलाई सम्बोधन गर्न विभागको र्यापिड रेस्पोन्स टिम (RRT) ले मिति २०८३ साल असोज २४ गते आकस्मिक निरीक्षण गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीद्वारा गरिएको उक्त अनुगमनका क्रममा रेस्टुरेन्टको भान्सामा व्यापक अनियमितता र लापर्बाही भेटिएको हो।
अनुगमनको क्रममा रेस्टुरेन्टको भान्सा कोठाको सरसफाइको अवस्था अत्यन्तै सन्तोषजनक नभएको पाइएको थियो। त्यहाँ पकाइएका खाद्य पदार्थहरू नछोपी भण्डारण गरिएको थियो भने फ्रिज तथा भान्सा कोठामा साङ्ला र भुसुना जस्ता किटजन्य पदार्थहरू भेटिएका थिए। त्यसैगरी, किचेनको ड्रेनेज (ढल निकास) को सरसफाइ पनि सन्तोषजनक नरहेको र फ्रिजमा खाद्य वस्तुहरूको अव्यवस्थित भण्डारण गर्नुका साथै खुला एवं फोहोर डस्टबिन राखिएको पाइएको थियो। साथै, फ्राइड आलु मसीजन्य कागज (पत्रिका) मा भण्डारण गरिएको पाइएकोले खानामा किरा पर्ने उच्च सम्भावना देखिएको थियो।

संयुक्त अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त व्यवसायलाई रु. २,५०,००० (दुई लाख पचास हजार) जरिवाना गरेको छ। यसैगरी, मसीजन्य कागजमा राखिएको करिब १ किलो फ्राइड आलु नष्ट गरिएको छ। विभागले किट नियन्त्रणको व्यवस्था थप प्रभावकारी बनाउन, सरसफाइमा विशेष ध्यान दिन, खाद्य वस्तुहरू सुरक्षित ढङ्गले छोपेर राख्न र भण्डारणलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ। अनुगमनका क्रममा देखिएका सम्पूर्ण कैफियतहरू ७ दिनभित्र सुधार गरी सुधारको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। उक्त अवधिमा निर्देशन पालना नभएमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही हुने विभागले चेतावनी दिएको छ।