२४ असोज, २०८३ (१० अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बेलुकी साढे ७ बजेदेखि मतगणना कार्य आधिकारिक रूपमा प्रारम्भ गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतगणना सुरु गर्नुअघि उम्मेदवारहरूसँग आवश्यक छलफल गरिएको थियो। त्यसलगत्तै उम्मेदवार तथा प्रतिनिधिहरूको प्रत्यक्ष रोहवरमा मतपेटिकाहरू खोलिएका हुन्। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सानेपामा सीसीटीभी क्यामेराको निगरानी तथा मतगणना प्रतिनिधिको नामावली सङ्कलन गरी पूर्ण सुरक्षाका साथ गणना अघि बढाइएको छ।
यसअघि शनिबार बिहान सकिएको सभापति पदको मतगणनाबाट गगन थापा सभापतिमा निर्वाचित भइसक्नुभएको छ। यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ। गत असोज २३ गते भएको मतदानको यो परिणामअनुसार खुला उपसभापति र महामन्त्रीको गणना सकिएपछि क्रमशः सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने निर्वाचन समितिको योजना रहेको छ।