मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

  • शनिबार, अशोज २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 133
    SHARES

भक्तपुर, २४ असोजः क्रियाशिल पत्रकार मञ्च भक्तपुरले विभिन्न व्यक्तिलाई आज पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ ।

मञ्चको १६औँ वार्षिक साधारणसभा, छैठौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्‍याएबापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपुर अस्पतालको विकास र समग्र बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमलाई सम्मान गरिएको छ ।

गत भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनुभएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु पाँच हजारसहित प्रदान गरिएको मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरिएको छ ।

त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु पाँच हजारसहित स्व लक्ष्मीमाया कासिछ्वा क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभयो ।

देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

बागमती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँच वटा झोलुङ्गे पुल र दुई वटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो ।

प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले सङ्घीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले बागमती प्रदेशले पत्रकारको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासङ्घको सिफारिस भए पुग्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार सङ्कलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्नुपर्ने औँल्याउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।

क्रियाशील पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्करराज बूढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहँदै आएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ