युरोपभर फैलिँदै विद्यार्थी आन्दोलन: फ्रान्सबाट सुरु भएको विरोध बेल्जियम, इटाली, ग्रीस र अस्ट्रियासम्म विस्तार, सरकारी खर्च कटौती र जीर्ण पूर्वाधार मुख्य कारण

युरोपभर फैलिँदै विद्यार्थी आन्दोलन: फ्रान्सबाट सुरु भएको विरोध बेल्जियम, इटाली, ग्रीस र अस्ट्रियासम्म विस्तार, सरकारी खर्च कटौती र जीर्ण पूर्वाधार मुख्य कारण

  • बिहिबार, अशोज २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

२२ असोज, २०८३ (८ अक्टोबर, २०२६)

काठमाडौँ। फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षामा सरकारी लगानी बढाउन माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन अहिले युरोपका अन्य मुलुकहरूमा पनि तीव्र रूपमा फैलिन थालेको छ। सेप्टेम्बरको मध्यतिर पेरिस आसपासका केही विद्यार्थीले सुरु गरेको यो प्रदर्शन फ्रान्समा देशव्यापी बन्दै छिमेकी देशहरू बेल्जियम, इटाली, ग्रीस, आयरल्यान्ड, जर्मनी र अस्ट्रियासम्म विस्तार भएको हो।

विद्यार्थी, अभिभावक र शिक्षक सङ्गठनहरूले विद्यालयका जीर्ण भवन, कक्षाकोठामा अत्यधिक चाप, शिक्षकको चरम अभाव र शिक्षामा पर्याप्त सरकारी लगानी नभएको भन्दै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। अक्टोबर ६ मा मात्रै फ्रान्सभर २ लाख ६६ हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। पछिल्लो दुई सातामा फ्रान्समा ६ हजार ५०० भन्दा बढी मानिस पक्राउ परिसकेका छन्, जसमा अधिकांश नाबालिग रहेका छन्। लेन्समा सोमबार प्रदर्शनका क्रममा १५ वर्षीय विद्यार्थीको हात प्रहरीको स्टन ग्रिनेडबाट गम्भीर रूपमा क्षतिग्रस्त भएपछि गृहमन्त्री लरेन्ट नुनेजले प्रदर्शनका क्रममा त्यस्ता ग्रिनेडको प्रयोगमा अस्थायी रोक लगाउँदै १८ वटा आन्तरिक अनुसन्धान अघि बढाउनुभएको छ।

यसैबिच, छिमेकी बेल्जियमको लिजमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा कम्तीमा १३९ जना पक्राउ परेका छन्। इटालीका टुरिन र रोममा माध्यमिक तहका विद्यार्थीहरूले ‘फ्रान्समा जस्तै गरौँ’ भन्ने नारासहित विद्यालयहरू कब्जा गरी विरोध जनाएका छन् भने केही प्रतिनिधि ऐक्यबद्धता जनाउन पेरिससमेत पुगेका छन्। ग्रीसमा बिहीबार देशव्यापी रूपमा विद्यालय गतिविधि बहिष्कार र प्रदर्शनको तयारी गरिएको छ।

यस्तै, आयरल्यान्डमा विश्वविद्यालयको शुल्क घटाउन र आवास सुविधाको माग गर्दै हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् भने जर्मनीमा समान शैक्षिक अवसरका लागि प्रदर्शन भएका छन्। अस्ट्रियामा आगामी तीन वर्षमा विश्वविद्यालय बजेटमा करिब एक अर्ब युरो कटौती हुने भएपछि अक्टोबरको मध्यमा थप प्रदर्शनको चेतावनी दिइएको छ। युरोपका सरकारहरूमाथि बजेट घाटा घटाउने र सार्वजनिक खर्च कटौती गर्ने दबाब बढिरहेका बेला शिक्षा क्षेत्रमा देखिएको यो चौतर्फी असन्तुष्टिले युरोपभर ठुलो राजनीतिक चुनौती खडा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ