२२ असोज, २०८३ (८ अक्टोबर, २०२६)
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबिच मेलबर्नमा द्विपक्षीय उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ। बिहीबार भएको उक्त भेटवार्तामा दुई देशबिचको दीर्घकालीन घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ।
भेटका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोगको घोषणा गर्नुभएको छ। यसअघि आपत्कालीन प्रतिकार्यका लागि अस्ट्रेलियाले प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा यो रकम थप भएको हो। नयाँ सहयोग रकम विशेष गरी राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यहरूमा केन्द्रित रहनेछ। मन्त्री खनालले संकटका बेला अस्ट्रेलिया सरकार र त्यहाँका जनताबाट प्राप्त शीघ्र मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
भेटवार्तामा आगामी कोप-३१ को सन्दर्भमा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई विश्वसामु उजागर गर्न र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य बढाउन छलफल भएको छ। साथै, अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस र प्राविधिक तथा व्यावसायिक शिक्षा (टीभीईटी) संस्थाहरू नेपालमा स्थापना गर्नेबारे विचार आदानप्रदान गरिएको छ। मन्त्री खनालले अस्ट्रेलियामा रहेका योग्य नेपाली विद्यार्थीहरूका लागि भिसा नीतिमा अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ।
दुवै मन्त्रीबिच नेपाल र अस्ट्रेलियाबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने, व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा, दिगो कृषि र पर्यटन प्रवर्द्धनका क्षेत्रमा आर्थिक साझेदारी विस्तार गर्ने विषयमा समेत सकारात्मक सहमति भएको छ। दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिँदै समझदारीहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।