२२ असोज, २०८३ (८ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ। महाधिवेशनमा देशभरिबाट सहभागी कुल सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार पूर्वघोषित कार्यतालिका अनुसार बिहीबार बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने तयारी गरिए पनि वर्षा र केही प्राविधिक व्यवस्थापनका कारण तीन घण्टा पछाडि अर्थात् बिहान १० बजेबाट मात्रै मतदान प्रक्रिया सुरु गर्न लागिएको हो।
निर्वाचन समितिले प्रतिनिधिको सहजताका लागि काठमाडौँका तीन प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरेको छ। प्रदेश र प्रतिनिधित्वको ढाँचा अनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ।
यसैगरी खुलामञ्चमा कोसी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्। प्रज्ञा भवनमा भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र कायम गरिएको छ।
सम्बन्धित प्रदेश तथा समूहका मतदाताले निर्वाचन समितिले तोकेकै केन्द्रमा पुगेर अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधिको परिचयपत्र र नामावली रुजु गराएपछि मात्रै मतपत्र प्राप्त गरी मतदान गर्न पाउने कडा सुरक्षा तथा व्यवस्थापकीय प्रबन्ध मिलाइएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणनाको कार्य सुरु गरिने निर्वाचन समितिले जनाएको छ।