२१ असोज, २०८३ (७ अक्टोबर, २०२६)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सभापति लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत शुभकामना सन्देश जारी गर्दै मोदीको कार्यकालमा भारतले हासिल गरेको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रशंसा गर्नुभएको हो।
आफ्नो शुभकामना सन्देशमा लामिछानेले मोदीको दूरदर्शी नेतृत्वमा भारतले तय गरेको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल र भारतबिचको सम्बन्ध केवल भौगोलिक निकटतामा मात्र सीमित नरहेर साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा दुई देशका जनता-जनताबिचको निकटतामा आधारित रहेको स्पष्ट पार्नुभएको छ।
साथै, सभापति लामिछानेले आफ्नो र आफ्नो पार्टी रास्वपाको तर्फबाट आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि पारस्परिक रूपमा लाभदायक बनाउन निरन्तर सहकार्य गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ। दुई देशबिचको दीर्घकालीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन रचनात्मक भूमिका खेल्ने प्रतिबद्धतासमेत उहाँले दोहोर्याउनुभएको छ।
