ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

  • बुधबार, अशोज २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

बाजुरा, २१ असोजः बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाउनुभएको हो ।

गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गर्नुभएको छ । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किनुभयो ।

गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गर्नुभयो । केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उहाँ ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुनुभयो ।

“केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भन्नुभयो, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ ।”

सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गर्नुभएका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गर्नुभएको हो । हाल उहाँले पाँच रोपनीमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाउनुभएको छ ।

ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गर्नुभएको उहाँले यस वर्ष भने उत्पादन बढेको बताउनुभयो । “जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उहाँले भन्नुभयो, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो । यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु । अझै केही पाक्ने क्रममा छ ।”

जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी भएको छ । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उहाँको भनाइ छ । उहाँले मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आउनुभएको छ ।

उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । “ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उहाँले भन्नुभयो, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन । गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ ।”

जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ । जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उहाँ पहिलो कृषक हुनुहुन्छ । अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन ।

बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ । यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन । वर्षभरि लगाएको खेतीले छ महिना पनि खान पुग्दैन ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुआत गरिएको थियो ।

केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ । “नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उहाँले भन्नुभयो, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ