काठमाडौं उपत्यकामा खाद्य अनुगमन तीव्र: म्याद गुज्रेका अखाद्य वस्तु नष्ट, दुग्धदेखि मदिरासम्म कैफियत फेला

काठमाडौं उपत्यकामा खाद्य अनुगमन तीव्र: म्याद गुज्रेका अखाद्य वस्तु नष्ट, दुग्धदेखि मदिरासम्म कैफियत फेला

  • मङ्लबार, अशोज २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

काठमाडौं, असोज २०  । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, चन्द्रागिरी नगरपालिका तथा प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले गत भदौ र असोज महिनाको विभिन्न मितिमा गरेको अनुगमनको विस्तृत विवरण सार्वजनिक गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको बजार निरीक्षणका क्रममा राजधानीका विभिन्न खाद्य स्टोर, सप्लायर्स, क्याफे तथा उद्योगहरूमा व्यापक लापरबाही भेटिएको छ।

संयुक्त अनुगमन टोलीले काठमाडौं महानगरपालिका र चन्द्रागिरी नगरपालिका क्षेत्रका पसल तथा उद्योगहरूमा छापा मार्दा म्याद गुज्रेका खाद्य पदार्थ, लेबल तथा अनुमति विनाका वस्तु बिक्री वितरण, र अस्वस्थकर भण्डारणका घटनाहरू फेला पारेको हो।

गोकर्णेश्वरको सप्लायर्समा शंकास्पद वाइन रोक्का

गोकर्णेश्वर न.पा.-४ स्थित शुभ ओजस सप्लायर्समा मकालु वाइन इण्डष्ट्रिज (संखुवासभा) र झरुवारासी गोदावरी (ललितपुर) बाट उत्पादित हजारौं बोतल वाइनमा आँखाले प्रष्ट देखिने लेदो जस्तो वस्तु भेटिएको छ। २,२३२ बोतल ६५० मि.लि. र ६६ पाकेट वाइन तथा अन्य ४२० बोतलमा कैफियत देखिएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा स्टक रोक्का गरी नमूना संकलन गरिएको छ।

बुढानिलकण्ठ नेचर क्याम्पिङ र खुर्सानीको धुलोमा उच्चा अल्ला्लाटोक्सिन

बुढानिलकण्ठ-५, दुलालगाउँस्थित नेचर क्याम्पिङको भान्साको फ्रिजमा शाकाहारी र मांसाहारी खाद्य पदार्थ सँगै राखिएको, सिन्थेटिक खाद्य रङ प्रयोग गरिएको र साङ्लोको बाक्लो उपस्थिति पाइएको छ।

साथै, बेसार, मेथी र प्रशोधित दूधसमेत म्याद समाप्त भएको फेला परेको छ। यसैगरी, बुढानिलकण्ठ-२ स्थित बी.आई.इ.टी. (B.I.E.T.) बाट उत्पादित तिखालाल ब्रान्डको खुर्सानीको धुलोमा RASFF सूचनाको आधारमा परीक्षण गर्दा Aflatoxin B1 र Total Aflatoxin को मात्रा अत्यधिक उच्च देखिएपछि २० केजी खुर्सानी उद्योगी आफैंले नष्ट गरेका छन्।

किराना पसल र डिपार्टमेन्ट स्टोरहरूमा म्याद गुज्रेका सामान

चन्द्रागिरी र कालिमाटी क्षेत्रका विभिन्न किराना तथा स्टोरहरूमा (जस्तै: सम्झना खाद्यान्न स्टोर, न्यू डि.डि.एस. स्टोर, महिमा मिनी मार्ट आदि) मखाना, चोकोज, भुजिया, बदाम, विभिन्न मसला, सस र अचारहरू उपभोग्य मिति नाघेको अवस्थामा भेटिएका छन्।

केही पसलहरूमा खाद्य अनुमति विनाका र बिना लेबल खुला रूपमा प्याक गरी बिक्री गरेको पाइएपछि ती सामग्रीहरू नष्ट गरिएको छ।

भण्डारणमा लापरबाही र किट नियन्त्रणको अभाव

अधिकांश पसलहरूमा खाद्यान्न भण्डारण गर्दा भुइँमा प्यालेट प्रयोग नगरिएको, खाद्य र अखाद्य वस्तु सँगै राखिएको तथा फ्रिजमा काँचो र पकाइएका वस्तुहरू छुट्याउने पालना नगरिएको पाइएको छ।

विभागले सम्बन्धित व्यवसायीहरूलाई तत्काल कैफियत सुधार गर्न, ‘एक्सपायरी जोन’ (Expire Zone) को व्यवस्था गर्न र खाद्य स्वच्छताका प्रावधानहरू कडाइका साथ पालना गर्न निर्देश दिएको छ।

विभागको कडा चेतावनी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरूको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ। अनुगमन गरिएका केही फर्महरूलाई सुधारका लागि ३ दिनभित्र विभागमा सप्रमाण उपस्थित हुन निर्देशन दिइएको छ भने मापदण्ड विपरीतका अखाद्य वस्तुहरू बजारबाट जफत गरी नष्ट गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ