१७ असोज, २०८३ (३ अक्टोबर, २०२६)
काठमाडौँ। गत सेप्टेम्बर ३० (बुधबार) यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको ‘फ्लाई दुबई’को विमानभित्र ककपिटमै छिरेर क्याप्टेन स्मित मच्छरमाथि चक्कु प्रहार गर्ने सह-पाइलटको पहिचान खुलेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी सह-पाइलट ओमानी नागरिक हमाम अल-हम्मामी रहेको पुष्टि भएको छ।
यूएईमा ओमानी बुबा र सिरियाली आमाको कोखबाट जन्मिएका अल-हम्मामीको अतिवादी (कट्टरपन्थी) सोच र पृष्ठभूमि रहेको विवरणहरू बाहिरिएका छन्। यसअघि ओमान एयरमा कार्यरत रहँदा सन् २०२४ मा उनीसँग अतिवादी सामग्री फेला परेपछि उडान तालिमबाट हटाई प्रशासनिक जिम्मेवारीमा सीमित पारिएको थियो। त्यसपछि रोयल एयर मारोक हुँदै आठ महिनाअघि मात्र उनी ‘फ्लाई दुबई’मा सह-पाइलटका रूपमा भर्ना भएका थिए।
चालक दलका सदस्यबाहेक १७२ जना यात्रु सवार विमानमा सह-पाइलटले मुख्य क्याप्टेन भारतीय नागरिक स्मित मच्छरमाथि चक्कु प्रहार गरेपछि विमानलाई साउदी अरबको ताबुकमा आपत्कालीन अवतरण गराइएको थियो। गम्भीर घाइते भएका क्याप्टेन स्मितले अदम्य साहस देखाउँदै यात्रुहरूको सहयोगमा ककपिटको ढोका खोली विमानलाई दुर्घटना हुनबाट जोगाएका थिए। उपचारपछि शुक्रबार यूएई फर्किएका क्याप्टेन स्मितसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गरी उहाँको साहसको उच्च प्रशंसा गर्नुभएको छ।