रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार बताउनुभएको छ ।
रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्था मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो । यातायात र मेट्रो सेवा पुनः सञ्चालन गरिए पनि बिहीबार राति पुलमा पुनः आक्रमण भएपछि फेरि बन्द गरिएको उहाँले बताउनुभयो । प्याटन पुलमा भने आक्रमण भएको कुनै रिपोर्ट नभएको उहाँले बताउनुभयो ।
यसैबीच, किएभको डार्नित्स्की जिल्लास्थित २५ तले आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र कम्तीमा दुई जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ । पछिल्ला महिनामा किएभमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण बढ्दै गएको छ ।