महेन्द्रनगर, १४ असोजः दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।
भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । पुलको करिब छ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ ।
“झोलुङ्गे पुलको दोधारातर्फको पाँच/छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ ।”
प्रवक्ता रावतले भन्नुभयो, “सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ ।” दुईदशकअघि बनेको झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो । भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो ।
“आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो”, उहाँले भन्नुभयो, “पिल्लर भत्किएपछि आवागमन रोकिएको छ ।”
महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल दोधारा चाँदनीका लागि सामान्य आवागमनको संरचना मात्रै होइन, यस क्षेत्रलाई बाँकी नेपालसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहँदै आएको छ ।
करिब डेढ किलोमिटर लामो यो पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भूभागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । वर्षायाममा महाकालीको बहाव बढ्दा आवागमन झनै कठिन हुने गरेको थियो । कतिपय अवस्थामा स्थानीयवासी महाकाली नदीमा किस्तीमार्फत समेत वारपार गर्नुपर्ने अवस्थामा थिए ।
२०५८ सालतिर महाकालीमा झोलुङ्गे पुल निर्माण भएपछि दोधारा चाँदनीको आवागमनमा ठूलो परिवर्तन आएको स्थानीयको अनुभव छ । पुल बनेपछि यहाँका बासिन्दाले नेपालकै बाटो हुँदै महेन्द्रनगरलगायतका क्षेत्रमा सहज रूपमा आवतजावत गर्न पाएका थिए । यसले दोधारा चाँदनीको व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
त्यसअघि दोधारा चाँदनी भौगोलिक रूपमा महाकाली नदीले धार परिवर्तन गर्दा अलग्गिएको र भारततर्फबाट मात्रै सहज पहुँच हुने क्षेत्रका रूपमा चिनिन्थ्यो । स्थानीय बासिन्दा दैनिक उपभोग्य वस्तु खरिददेखि उपचार तथा अन्य कामका लागि समेत भारतीय बजारमा निर्भर हुने गरेको अभिलेखहरूमा उल्लेख छ । झोलुङ्गे पुल निर्माणपछि भने यस क्षेत्रको बाँकी नेपालसँगको भौतिक तथा सामाजिक सम्बन्ध थप बलियो भएको थियो ।
पछिल्लो समय महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भएपछि ठूला सवारीसाधनको आवागमनसमेत सहज भएको छ । तर झोलुङ्गे पुलले पैदलयात्री तथा स्थानीय आवागमनका लागि आफ्नो छुट्टै महत्त्व कायम राखेको छ । पछिल्लो दुई दशकयता त यसले पर्यटकीय क्षेत्रको भूमिका समेत निर्वाह गर्दै आएको छ । नयाँ पक्की पुल बनेपछि पनि पुरानो झोलुङ्गे पुल दोधारा चाँदनीको इतिहास र विकासक्रमसँग जोडिएको महत्त्वपूर्ण संरचनाका रूपमा रहँदै आएको छ ।