काठमाडौं, ९ असोज । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानविरुद्ध ५ विकेटको सानदार जित हासिल गरेको छ।
अफगानिस्तानले प्रस्तुत गरेको १०३ रनको सामान्य लक्ष्य नेपालले १६ बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेटायो। टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो।
उसका लागि फैजल खान अहमदजाइ र नजिबुल्लाह जाड्रानले समान ३०–३० रन बनाए भने नानगेयलिय खानले १७ रन जोडे।अफगानिस्तानलाई सस्तोमै समेट्न नेपाली बलरहरूले अब्बल दर्ताको प्रदर्शन गरे। नेपालका लागि कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिए भने ललित राजवंशीले कसिलो बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ महत्वपूर्ण विकेट हात पारे।१०३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुआत केही खल्लो भए पनि मध्यक्रमका ब्याटरहरूले सम्हालिएको प्रदर्शन गरे।
नेपालका लागि सन्दीप जोराले ३५ बलमा ३४ रन र कप्तान रोहित पौडेलले ३३ रनको योगदान दिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन ,गुल्सन १ बलमा १ रन बनाउँदै टिमलाई सहज जित दिलाए। अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १–१ विकेट लिए पनि हार टार्न सकेनन्।