Mirmire Online

Advertisment

SKIP THIS

विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट

विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

सुदूरपश्चिम, ८ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम कम गर्न प्रदेश सरकारले सबै निकायसँग सहकार्य गरी आवश्यक काम गरिरहेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन बजेटसम्बन्धी नीतिगत संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले पछिल्ला विपद्का घटनाबाट पाठ सिक्दै सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक सबै पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले रसुवाको भोटेकोशीमा गएको बाढीलगायत केही वर्षयता भइरहेका विपद्का घटनाले सम्भावित जोखिमप्रति थप सचेत हुनुपर्ने पाठ सिकाएको उल्लेख गर्दै सोहीअनुसार तयारी आवश्यक रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा अन्य विपद्का कारण पछिल्ला १० वर्षमा मात्रै पाँच हजार १९५ जनाको मृत्यु, ५१७ जना बेपत्ता, १५ हजार ७५१ जना घाइते तथा दुई लाख दुई हजार ५८५ परिवार प्रभावित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । त्यस अवधिमा विपद्का कारण रु ३२ अर्बभन्दा बढीको आर्थिक क्षति भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार एक्लैले मात्र प्रयास गरेर सम्भव नहुने भन्दै तीनै तहका सरकार र सरोकार भएका विकास साझेदारलगायत निकायबीचको सहकार्य थप आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमको सामना गर्न सबै तह र निकायबीच समन्वय आवश्यक छ । विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोतसाधनको व्यवस्थापन र उद्धार तथा राहतका संयन्त्रलाई चुस्त बनाउन सबै मिलेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित नगरी जोखिम न्यूनीकरण, पूर्वतयारी र दीर्घकालीन अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उहाँले प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा रहेकाले जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी