८ असोज, २०८३ (२४ सेप्टेम्बर, २०२६)
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति एवं वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहीबार आयोजित अन्तिम संस्कारका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने नेपाल प्रहरीको टोलीले शोक सलामी प्रस्तुत गरेको थियो।
यसअघि शिक्षा मन्त्रालयमा शोक पुस्तिका राखिएको थियो जहाँ मन्त्री पोखरेल, सचिव चुडामणि पौडेलसहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीहरूले शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। सो अवसरमा बोल्दै शिक्षामन्त्री पोखरेलले डा. शर्माको निधनले समग्र शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो। साथै, काठमाडौँ विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने डा. शर्माको सपना पूरा गर्न सरकारले चाँडै संसद्मा ऐन संशोधन विधेयक लैजाने र ‘बोर्ड अफ ट्रष्टी’ मोडलमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालमा उच्च तथा प्राविधिक शिक्षाका जग बसाल्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका डा. शर्मा सिटीइभिटी (CTEVT) का संस्थापक निर्देशक र बूढानीलकण्ठ स्कुलका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो। बेलायतबाट रसायनशास्त्रमा पीएचडी गर्नुभएका उहाँले दुई दशकभन्दा बढी समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्नुभएको थियो।