खाद्य विभागको एक्सन: बाढीपीडितको राहतमा भेटियो कुहिएको आलु र शङ्कास्पद दाल, बजारबाट ओखर फिर्ता गराउन कडा आदेश

खाद्य विभागको एक्सन: बाढीपीडितको राहतमा भेटियो कुहिएको आलु र शङ्कास्पद दाल, बजारबाट ओखर फिर्ता गराउन कडा आदेश

  • मङ्लबार, भदौ ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

काठमाडौँ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्री र काठमाडौँ उपत्यकाका विभिन्न खाद्य उद्योगहरूमा एकसाथ कडा अनुगमन तथा निरीक्षण गरेको छ। भदौ २६ गतेदेखि २९ गतेसम्म सञ्चालित विशेष अनुगमनका क्रममा गुणस्तरहीन पाइएका सामग्री नष्ट गर्नाका साथै मापदण्ड पालना नगर्ने उद्योगहरूलाई कडा निर्देशन दिइएको छ

विभागले बाढीपीडितका लागि राहत सामग्री संकलन तथा भण्डारण गरिएका स्थानहरू सामाखुसीस्थित राधा स्वामी सत्सङ्ग, थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर खाद्य पदार्थको स्वच्छता परीक्षण गरेको थियो। भदौ २६ गते राधा स्वामी सत्सङ्गमा अनुगमन गर्दा राहतका लागि राखिएको दुई बोरामध्ये करिब ५ किलोग्राम आलु कुहिएको भेटिएपछि टोलीले तत्काल नष्ट गराएको छ। सोही स्थानमा भदौ २८ गते निरीक्षण गर्दा भेटिएको ‘मिक्स दाल’को गुणस्तरमा शङ्का लागेपछि उत्पादक तथा प्याकिङ गर्ने सम्बन्धित फर्ममाथि थप अनुसन्धान र कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ

यस्तै, भदौ २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक सहायताबाट प्राप्त राहत सामग्रीको जाँच गर्दा नुडल्स, क्यानमा बन्द गरिएका काबुली चना र बकुल्ला सिमी, ओलिभ आयल, पास्ता, जुस, मह, खजुर र पीठो लगायतका वस्तुहरूको लेबल, ब्याच नम्बर र उपभोग्य मिति दुरुस्त पाइएको छ। थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा राखिएका फोर्टिफाइड स्टिम जिरा मसिना चामल, मुसुरो दाल, सूर्यमुखी तेल र आयोनुनको अवस्था पनि मापदण्डअनुरूप नै भेटिएको छ। विभागले राहत सामग्री वितरण गर्दा अनिवार्य रूपमा ‘असल वितरण अभ्यास’ (GDP) पालना गर्न निर्देशन दिएको छ

यसैबीच, सर्वसाधारण उपभोक्ताको गुनासो र नियमित बजार अनुगमनका क्रममा विभागले अन्य व्यावसायिक प्रतिष्ठानहरूमाथि पनि कारबाही चलाएको छ। कुलेश्वरस्थित ‘यूनिक स्पाइसेस एण्ड ड्राई फुड प्रोडक्सन’ले बिक्री गरेको ओखरमा ढुसी भेटिएको गुनासो आएपछि गरिएको अनुगमनमा उद्योगले ओखर फिर्ता (Recall) गर्न पत्राचार गरेको पाइएको थियो। विभागले बजारमा पठाइएका सन् २०२६ जुलाई उत्पादन मिति भएका सम्पूर्ण ओखर तत्काल फिर्ता गरी सोको विवरण पेश गर्न आदेश दिँदै नमुना प्रयोगशाला परीक्षणका लागि पठाएको छ

उता, ललितपुरस्थित देवयानी इन्टरनेशनल (केएफसी/पिज्जा हट) मा चिकेन र मायोनेज ससमा अस्वाभाविक गन्ध आएको गुनासोपछि अनुगमन गर्दा तेलको ‘टोटल पोलर मटेरियल’ (TPM) मापदण्डभित्रै (१७.५ र १६.५) भेटिए पनि एउटै तेल पटक-पटक प्रयोग नगर्न र मानक सञ्चालन कार्यविधि (SOP) बनाएर लागू गर्न निर्देशन दिइएको छ। यस्तै, काठमाडौँको बानेश्वरस्थित रामेश्वरम स्वीट्स एण्ड स्न्याक्समा कीट नियन्त्रण (Pest Control) को व्यवस्था फितलो पाइएकाले त्यसलाई थप प्रभावकारी बनाउन भनिएको छ

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार बाढीपीडितका लागि पठाइने राहत सामग्री होस् या बजारमा बिक्री हुने दैनिक उपभोग्य वस्तु, उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जोकोहीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिनेछ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी