काठमाडौँ। प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशका सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। प्राकृतिक विपद् तथा बाढीका कारण प्रभावित घाइतेहरूलाई आवश्यक पर्ने रगतको अभाव पूरा गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बैंकले बागमती प्रदेशको केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको सिमरा शाखा, गण्डकी प्रदेशको अमरसिंहचोक शाखा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखा गरी कुल ८ वटा स्थानबाट एकैसाथ रक्तदान सञ्चालन गरेको थियो। देशव्यापी रूपमा सञ्चालन गरिएको यस कार्यक्रमबाट ३२१ पिन्ट रगत सङ्कलन भएको छ।

सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रिय रहँदै आएको प्रभु बैंकले यसअघि पनि बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। साथै बैंकका सञ्चालक तथा कर्मचारीहरूको स्वेच्छिक योगदानबाट सङ्कलित ४० लाख ८० हजार ५० रुपैयाँ सोही कोषमा जम्मा गर्नुका साथै नुवाकोटका बाढी प्रभावितका लागि १०० थान टेन्ट र १०० थान स्लीपिङ ब्याग हस्तान्तरण गरिसकेको छ। बैंकले विपद्को कठिन समयमा नागरिक तथा समुदायको उद्धार र राहतका लागि निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता जनाएको छ।