काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँको बुढानीलकण्ठस्थित ‘लेमन ट्री प्रिमियर’ मा भव्य कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) को अध्यक्षतामा आयोजित तीन दिने (शुक्रबारदेखि आइतबारसम्म) कार्यक्रममा देशभरका उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रममा एमडीआरटी (MDRT) हासिल गर्न सफल अभिकर्ता, ‘मेगा स्टार’ उपाधि प्राप्त अभिकर्ता तथा वरिष्ठ एजेन्सी म्यानेजर (Senior Agency Manager) हरूलाई उनीहरूको समर्पण र व्यावसायिक वृद्धिको कदर गर्दै सम्मानपत्र र मायाको चिनोसहित सम्मानित गरिएको थियो।
सो अवसरमा वरिष्ठ चिकित्सक प्रा. डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन शैली र पेसागत विकासका विषयमा उत्प्रेरणामूलक (Motivations) विशेष प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले रिलायबल नेपाल लाइफको सफलताको मुख्य मेरुदण्ड नै अभिकर्ताहरू भएको बताए। उनले अभिकर्ताहरूको निरन्तरको मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
विज्ञप्ति अनुसार कार्यक्रममा आगामी व्यावसायिक रणनीति, बजार विस्तारका सम्भावना र ग्राहकलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा बृहत् छलफल भएको थियो। साथै, सहभागी अभिकर्ताहरूले आपसमा अनुभव आदान-प्रदान गर्नुका साथै आ-आफ्नो सफलताका प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रमा प्रस्तुत गरेका थिए।