काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यशोदा ग्रुप अन्तर्गतका उद्योगहरूले ठूलो परिमाणमा सहयोग हस्तान्तरण गरेका छन्। ग्रुप अन्तर्गतका यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाको प्रा. लि. ले संयुक्त रूपमा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन्।
बुधबार (भदौ २४ गते) ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
नगद सहयोगका साथै कम्पनीले बाढीबाट अति प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङका आश्रयस्थलहरूमा प्रत्यक्ष रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट चाउचाउ’ राहत स्वरूप वितरण गरिसकेको छ।
बाढीपीडितहरूलाई तत्काल खानाको समस्या नहोस् भनी खाद्यान्न सहयोग पठाइएको र आवश्यक परेमा थप चाउचाउ तथा राहत सामग्री पठाउन कम्पनी सदैव तत्पर रहेको जनाइएको छ। यस विपद्को घडीमा प्रभावित क्षेत्रमा थप जुनसुकै किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा. लि. पूर्ण रूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।