काठमाडौँ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रूपमा १० करोड रुपैयाँ सहयोग गरेको छ। टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो।
बुधबार (भदौ २४ गते) आयोजित एक विशेष कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो।
रकम हस्तान्तरण कार्यक्रममा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीसमेतको उपस्थिति रहेको थियो।
यसअघि कम्पनीका कर्मचारीहरूका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ। त्यस्तै, टेलिकमले बाढीलगत्तै प्रभावित क्षेत्रका सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको नि:शुल्क कल, डेटा र एसएमएस सुविधा उपलब्ध गराइसकेको छ।
कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ।
नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् र कोभिड महामारीका समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्न र राहत एवम् उद्धार कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।