भदाै, १६ काठमाडाैं । विनाशकारी रसुवा बाढीमा बेपत्ता रसुवा र नुवाकाेटका मानिसहरू सयाैंका संख्यामा भेटिन बाँकी नै छन् । सरकारले घाइतेहरूलाई उद्धार गरेर काठमाडाैं उपत्यकाका सरकारी पाटन, वीर, त्रिवि टिचिङ लगायत नीजि क्षेत्रका झण्डै दर्जन अस्पतालमा उपचार गराइरहेकाे छ । धेरै त डिस्चार्ज पनि भइसकेका छन् । डिस्चार्जकाे खबर निकै सुखद् हाे । तर तिनै घाइतेका वंशभित्रकै सदस्य, अनि नाता-आफन्त, साथीभाई थुप्रै जनालाई लेदाेसहितका बाढीले वेपत्ता छन् । सरकारले वेपत्ता भएकाहरूकाे नाम, ठेगाना, फाेन नम्बर र हुलिया, तस्बिरसहित सरकारी निकायका जानकारी गराउन भन्दै आइरहेकाे छ ।
यसैका आधारमा पीडितहरूले भरपर्दाे स्थान ठानेर बेपत्ताका परिवार सदस्य वा आफन्तले बेपत्ता भएकाहरूकाे नाम ठेगाना, नम्बरसहित महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा अस्पतालकाे भित्तामा तस्बिरहरू टाँसेका छन् । एउटा भित्ता पूरै भरिएकाे छ । मंगलबार पनि बेपत्ताहरूकाे तस्बिर ए फाेर साइज कागजमा रंगिन तस्बिर प्रिन्ट गरेर टाँस्दै गरेकाे भेटियाे । अर्काे स्थान पाेष्टमार्टम विभागकाे गेट अगाडि कान्ति बाल अस्पतालपट्टिकाे सडक भित्तामा टाँसिएकाे छ । ती तस्बिर हेर्न, पहिचान गर्न र तस्बिर खिचेर लैजानेहरूकाे हुल निरन्तर चलेकाे देखिन्थ्याे । हुलमा प्राय सबै समुदायका मानिस देखिन्थे । बेपत्तामा काेही बाढीले साेहाेरिएका बासिन्दा, काेही त्यस क्षेत्रमा हाइड्राेमा, काेही यातायात क्षेत्रमा, काेही घुम्न पुगेका त काेहि उपचार गर्न वा व्यापार, ट्रेकिङ व्यवसाय गर्दै आइरहेका मानिस रहेका कुरा सूचीमा देख्न सकिन्थ्याे । भित्ताभरिका तस्बिर हेर्दै टाेलाउने र कठै विचरा भन्ने वाक्य त्यहाँ पुगेका हरेकका मुखबाट निस्कन्थ्याे । सामाजिक सञ्जालमा राख्न पनि धेरैले माेवाइलमा तस्बिर कैद गरेकाे देखियाे ।
सरकारले अहिलेसम्म ३,९१६ जना बेपत्ता रहेकाे जनाएकाे छ । त्यस्तै १,००३ जना मृत फेला परेकाे र २७९ जनाकाे उपचार भइरहेकाे तथा १६८ जना डिस्चार्ज भएकाे जनाएकाे छ । उद्धार तथा मृतककाे खाेजी कार्य जारी रहेकाे सरकारले बताएकाे छ । कुनैका त घरै रित्तिएका छन् ।
यहि भदाै १० गते बिहान करिब पाैने ९ मा नेपाल-चीन सीमानाकाे तिब्बती क्षेत्रमा गएकाे हिम पहिराेले नदी थुनाएर फुट्दा आएकाे लेदाेसहितकाे बाक्लाे बाढीले रसुवाकाे टिमुरेदेखि स्याफ्रुबेंसी, मैलुङ, त्रिशुली र नुवाकाेटकाे देवीघाट, खाल्टे, ढुंगेबजार, बेत्रावतीलगायत नदी किनारका दुई सय मिटर उचाईसम्मका बस्ती ध्वस्त पारेकाे थियाे । बाढीका कारणबारे भने थप अध्ययन भइरहेकाे छ ।



























