भदौ, ७ काठमाडौं । मलेसियाको राेजगारीमा कामदार पठाउने विषयमा देशका सीमित म्यानपावर कम्पनीहरूले मात्र सिण्डिकेट कायम गरेपछि म्यानपावर व्यावसायीहरू आन्दाेलित भएका छन् ।
सिण्डिकेट तत्काल खारेज गरेर नियमितझैं सबै कम्पनीले कामदार पठाउन पाउने व्यवस्था हुनुपर्ने भन्दै उनीहरूले आक्राेश पाेखेका छन् । मलेसिया सरकारले विभिन्न मुलुकमा झैं नेपालबाट जम्मा २५ वटा कम्पनीबाट मात्र नेपाली कामदार लिने निर्णय हालै मात्र गरेकाे थियाे । जसकाे विराेधमा व्यावसायी मात्र नभई नेपाल सरकारले समेत आपत्ति जनाउँदै आएकाे छ ।
नेपालका केही चरम दलाल र माफियाहरूकाे स्वार्थमा मलेसियाकाे मानव संसाधन मन्त्रालयले कदम चालेकाे आन्दाेलनकारीहरूकाे भनाई छ । मन्त्रालयले यहि २२ अगस्ट २०२६ अर्थात् शनिबारदेखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । यसपछि व्यावसायीहरू आईतबार सिण्डिकेटधारी म्यानपावर कम्पनी कार्यालयहरूमा पुगेर हात र टाउकाेमा कालाे पट्टी बाँधेर नाराबाजी र विराेध प्रदर्शन गरेका छन् ।
काठमाडाैंकाे बत्तिसपुतलीस्थित ‘माफिया’काे रूपमा परिचित रघु पुरी मालिक रहेकाे ‘द रिभर ओभरसिज’ (टीओआर)नामक म्यानपावर कम्पनीमा सयाैंकाे संख्यामा म्यानपावर व्यावसायीहरूले नाराबाजी गर्दै विराेध प्रदर्शन गरे । पुरीमाथि माफिया र दलालकाे आराेप लगाए । पुरीले सिण्डिकेट बनाउन मुख्य भूमिका खेलेकाे र त्याे तत्काल खारेजी गर्न पहल नगरिए राम्राे नहुने चेतावनी समेत उनीहरूले दिए ।
अपरान्हतिर सयाैंमा जम्मा भएका महिला पुरूषहरूले चर्का नाराबाजी शुरू गर्नुका साथै हुल नै कार्यालयभित्र छिर्न खाेजेपछि कार्यालयले गेट बन्द गरेकाे थियाे । त्यसपछि प्रदर्शनकारीहरूले गेट फाेड्ने प्रयास गरेका थिए । तत्काल गाैशाला प्रहरी वृत्तबाट खटिएकाे प्रहरी टाेलीले हस्तक्षेप गरी कार्यालयमा क्षति हुनबाट जाेगाइयाे । पुरीलाई बाहिर निकाल्न भन्दै क्राेधित भीड र प्रहरीबीच एक घण्टा जतिनै घम्साघम्सी चल्याे । भीडबाट कार्यालयमा आगाे लगाउने आवाज उठेपछि डीएसपीकाे नृतृत्वमा तैनाथ प्रहरी टाेलीले लाठी चार्ज गरेर भीडलाई तितरबितर पारेकाे थियाे । टीओआरकाे बन्द गेटअगाडि भ्यान र ट्रकसहित दर्जनाैं संख्यामा प्रहरी तैनाथ गरिएकाे थियाे ।