काठमाडौँ। नेपाल आयल निगमले आज (आइतबार) पनि काठमाडौँ उपत्यकाका सात विभिन्न स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री-वितरण गर्दैछ। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यो व्यवस्था गरिएको बताएको छ।
निगमले जारी गरेको सूचनाअनुसार तोकिएका स्थानहरूमा निम्नलिखित ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन्:
टेकु परिसर: नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर
बुढानिलकण्ठ (पशु सेवा शाखा, चापली): नेपाल, एचपी र भानु
कीर्तिपुर (राधास्वामी परिसर): नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
कीर्तिपुर (राष्ट्रिय आयुर्वेद केन्द्र): नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी
नयाँ बजार (जुडो हल परिसर) तथा नयाँ बानेश्वर (होटेल परिसर): नेपाल, एचपी र ओम
बबरमहल (पुरानो जिल्ला प्रशासन कार्यालय परिसर): नेपाल र एचपी
चन्द्रागिरि (नगरपालिका कार्यालय परिसर): लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
नियमित विक्रेतामार्फत ग्यास बिक्री जारी राख्न व्यवसायीहरूलाई निर्देशन दिँदै निगमले साधारण प्रक्रियाबाट ग्यास नपाएका उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने जनाएको छ।