१ भदौ, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित ‘राधे राधे बोइज होस्टेल’ मा आकस्मिक अनुगमन गरी भान्साको स्वच्छता र व्यवस्थापन सुधार्न कडा निर्देशन दिएको छ।
होस्टेलले फोहोर पानी खुवाएको, खानामा कीरा परेको तथा गुणस्तरहीन खाना खुवाएको भन्दै विभागमा प्राप्त गुनासोका आधारमा द्रुत प्रतिक्रिया टोली (र्यापिड रेस्पोन्स टिम) ले गत साउन २८ गते होस्टेलमा स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गर्दा विभिन्न गम्भीर लापरबाही र कैफियतहरू फेला पारेको छ।
अनुगमनमा फेला परेका कैफियतहरू:
भान्साको सरसफाइ सामान्य रहे पनि व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको।
हावा ओहोरदोहोर गर्ने प्रणाली (Exhaust System) प्रभावकारी नभएको र बत्तीको उज्यालोपन कमजोर रहेको।
फ्रिजको प्रयोग अव्यवस्थित तरिकाले गरिएको र भान्साकोठाको ठीक अगाडि शौचालय राखिएको।
विभागको निर्देशन र कारबाही:
विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार अनुगमन टोलीले होस्टेल सञ्चालकलाई भान्साको समग्र सरसफाइ, कीट नियन्त्रण (Pest Control) र एग्जस्टको उचित व्यवस्था गर्न निर्देशन दिएको छ।
त्यस्तै, फ्रिज व्यवस्थित गर्न र भान्साको ठीक अगाडि रहेको शौचालय प्रयोग नगर्न समेत कडा निर्देशन दिइएको छ। यस प्रकरणमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया भने काठमाडौँ महानगरपालिकाले अगाडि बढाउने निर्णय भएको विभागले जनाएको छ।