काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) कानुन संकायअन्तर्गत स्नातकोत्तर तह (एलएलएम) दोस्रो सेमेस्टरको परीक्षामा ७७ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएपछि गम्भीर विवाद उत्पन्न भएको छ। गत साउन २२ गते प्रकाशित नतिजामा ‘विधिशास्त्र’ (विषय कोड: १६१) विषयमा मात्रै सामूहिक रूपमा विद्यार्थी अनुत्तीर्ण गराइएपछि उत्तरपुस्तिका परीक्षणमा चरम लापरबाही र पूर्वाग्रह राखिएको आरोप विद्यार्थीहरूले लगाएका छन्।
गत असार १० देखि २६ गतेसम्म सञ्चालित परीक्षामा तीनवटा कलेजका कूल १६७ जना विद्यार्थी सहभागी भएका थिए। जसमा ३८ जना मात्र उत्तीर्ण भएका छन् भने १२९ जना विद्यार्थी ‘विधिशास्त्र’ विषयमा अनुत्तीर्ण भएका छन्।
अन्य विषयमा विशिष्ट अङ्क, ‘विधिशास्त्र’ मा भने सखाप!
अनुत्तीर्ण हुनेहरूमा पहिलो सेमेस्टरका टपर, लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा कार्यरत कर्मचारीदेखि प्रि-बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूसमेत रहेका छन्। अन्य सबै विषयमा ‘ए प्लस’ र ‘ए’ ग्रेड वा प्रथम श्रेणीको अङ्क ल्याएर उत्तीर्ण भएका विद्यार्थीलाई एउटै विषयमा नियोजित रूपमा अनुत्तीर्ण गराइएको आरोप विद्यार्थीहरूको छ।
विद्यार्थीको भनाइ:
“हाम्रो अन्य सबै विषयमा उत्कृष्ट अङ्क आएको छ, प्रि-बोर्डमा पनि राम्रो थियो। तर उत्तरपुस्तिका परीक्षक र समपरीक्षकको हचुवा व्यवहारका कारण एउटै विषयमा १२९ जनालाई फेल गराइयो। यो कपी चेकिङ गर्ने व्यक्तिको सनक र लापरबाही हो। केवल रिटोटलिङ (पुनर्योग) ले यो पूर्वाग्रह सच्चिँदैन, विषयविज्ञमार्फत पुनः मूल्याङ्कन (रि-चेकिङ) हुनुपर्छ।”
कुन क्याम्पसमा कति विद्यार्थी अनुत्तीर्ण? (क्याम्पसकी नतिजा विवरण)
त्रिविले एलएलएमका लागि निर्धारण गरेको १८५ सिटमध्ये तीनवटा कलेजमा १६७ जना भर्ना भई परीक्षामा सामेल भएका थिए।
पृथ्वीनारायण बहुमुखी क्याम्पस (पोखरा): परीक्षा दिएका १९ जनामध्ये १५ जना (झन्डै ७९%) अनुत्तीर्ण; मात्र ४ जना उत्तीर्ण।
नेसनल ल क्याम्पस: परीक्षा दिएका ५० जनामध्ये ४२ जना (८४%) अनुत्तीर्ण; मात्र ८ जना उत्तीर्ण।
नेपाल ल क्याम्पस (प्रदर्शनीमार्ग): ९८ जना विद्यार्थीमध्ये ५८ जना (करिब ६०%) अनुत्तीर्ण; ४० जना उत्तीर्ण।
(बिहानी सत्रका ५० मध्ये ३६ जना र दिवा सत्रका ४८ मध्ये २२ जना अनुत्तीर्ण।)
डिन कार्यालयमा ज्ञापनपत्र र अदालत जाने चेतावनी
उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षकहरूलाई तत्काल निलम्बन गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै विद्यार्थीहरूले कानुन संकायका डिन प्रा.डा. डीएन पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन्।
डिन कार्यालयले त्रिविको नियममा उत्तरपुस्तिका पुनः मूल्याङ्कन (रि-चेकिङ) को व्यवस्था नभएको र पुनर्योग (रिटोटलिङ) मात्र गर्न सकिने बताएपछि आक्रोशित विद्यार्थीहरू अब अदालत जाने तयारीमा जुटेका छन्। “कुनै परीक्षकको गैरजिम्मेवार व्यवहारका कारण भविष्यमाथि खेलबाड हुन दिँदैनौँ, न्यायका लागि हामी अदालत जान्छौँ,” एक अनुत्तीर्ण विद्यार्थीले बताए।
डिन कार्यालयको अडान: “पुनः परीक्षा दिनुको विकल्प छैन”
त्रिवि कानुन संकायका डिन प्रा.डा. डीएन पराजुलीले भने त्रिविको नियम अनुसार उत्तरपुस्तिका पुनः परीक्षण गराउन नमिल्ने र पुनः परीक्षा नै दिनुपर्ने स्पष्ट पारेका छन्।
प्रा.डा. डीएन पराजुली (डिन, कानुन संकाय):
“त्रिविमा कपी फेरि परीक्षण गर्ने प्रावधान नै छैन, प्राप्ताङ्कको पुनर्योग (रिटोटलिङ) मात्र गर्न सकिन्छ। विषयविज्ञले दिएको नम्बर नै अन्तिम हुन्छ, त्यसलाई डिन कार्यालयले हेरफेर गर्न सक्दैन। अघिल्लो सेमेस्टरमा टप गर्दैमा वा एउटा विषयमा धेरै नम्बर आउँदैमा अर्कोमा फेल हुनै सक्दैन भन्ने दाबी गर्न मिल्दैन। अनुत्तीर्ण विद्यार्थीले आगामी दोस्रो सेमेस्टरको परीक्षामा सामेल भएर उत्तीर्ण हुनुको विकल्प छैन।”