प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

  • आइतवार, साउन १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ, १७ साउनः गत असार १३ गते बिहान करिब ४ः०० बजे काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई अपचित व्यक्तिले एक महिलालाई ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भनेर सोध्छन् । ती महिलाले उनीहरूलाई बाटो देखाइदिन्छिन् । उनीहरू केही अगाडि जान्छन् । फेरि फर्केर आएर मोटरसाइकलको पछाडि बसेका व्यक्तिले ती महिलालाई लडाउछन् र घाँटीमा लगाएको दुई दशमलव पाँच तोला बरारबरको सुनको सिक्री जबरजस्ती लुटी फरार हुन्छन् ।

झट्ट हेर्दा नाटकीय जस्तो लाग्ने यस्ता घटना गत असार १५ गते काठमाडौँको नरेफाँट र काभ्रेपलाञ्चोकको धुलिखेल तथा यही साउन ७ गते काठमाडौँ महानगरपालिका-६ को धापासी हाइटमा पनि घट्छन् । यी घटनालाई जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीले सूक्ष्म रूपमा अनुसन्धान गर्ने क्रममा सिसिटिभी फुटेजबाट प्राप्त सङ्केतका आधारमा घटनाको अनुसन्धान अघि बढ्छ ।

अन्ततः प्रहरी पछिल्लो एक महिनामा घटेका ती घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ का ३४ वर्षीय कर्मा तामाङ समूहको संलग्नता भएको निष्कर्षमा पुग्छ । यसबीचमा अनुसन्धानका क्रममा उक्त समूहका केही सदस्य पक्राउ पर्छन् ।

कर्मा लुटपाट गर्ने योजनासहित फेरि काठमाडौँ आउँछन् । यतिबेला भने उनी प्रहरीको ‘ट्र्याकिङ’मा पर्छन् । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा बसेर लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार राति करिब १०ः२५ बजे बूढानीलकण्ठ-१३ चुनिखेलमा उनको प्रहरीसँग जम्काभेट हुन्छ ।

कार्यक्षेत्रमा खटिएका प्रहरीले चेतावनी स्वरुप दुई राउण्ड हवाई फायर गर्छन् । कर्माले उल्टै प्रहरीलाई खुकुरी प्रहार गर्न खोज्छन् । त्यसपछि प्रहरीले घुँडामुनि गोली प्रहार गरी कर्मालाई नियन्त्रणमा लिन्छन् र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले विगतका गुण्डागर्दी, चोरी, लुटपाटलगायत घटनाको ‘प्रोफाइलिङ’समेतको विश्लेषण गर्दा उक्त घटनामा कर्मा समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जानकारी दिनुभयो । “उनको समूहका सदस्य पक्राउ परेपछि नाइके कर्माको बसोबास र अवातजावतको सम्भावित स्थानको पहिचान गरी निजको खोजी सुरु गरिएको थियो”, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

प्रहरीले ती घटनामा संलग्न कर्मा समूहका सदस्य काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रतिमान गोले, ३० वर्षीय पासाङ घिसिङ र ३६ वर्षीय मनोज तामाङ तथा कास्कीका २९ वर्षीय आले गुरुङलाई यही साउन १५ गते बनेपाबाट पक्राउ गरेको थियो । काठमाडौँ-सिन्धुपाल्चोक गरिरहने उनको समूहले काठमाडौँ आउने लुटपाट गर्ने र जिल्ला फर्केर सुरक्षित हुने बाटो अपनाएको अनुसन्धानबाट देखिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

“उनीहरूले बिहान सबेर र राति अबेर सडकमा निस्केका वृद्धा र महिलालाई बढी केन्द्रमा राखेर लुटपात गरेको देखियो”, उहाँले भन्नुभयो, “अपरिचित व्यक्तिले झै बाटो सोधखोज गर्ने र लुटपाट गर्ने गरेको पाइयो ।” कर्माको समूहले नम्बर प्लेट परिवर्तन गर्दै लुटपाटमा दुई वटा मोटरसाइकल प्रयोग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले कर्माको साथबाट एक थान मोटरसाइकल, खुकरी एक थान, मोटरसाइकलका विभिन्न नम्बर प्लेट पाँच थान, मोटरसाइकल चोरी गर्ने औजारहरू बरामद गरेको छ । उनीहरूले मोटरसाइकल पनि चोरी गर्ने र लुटपाटको घटनापश्चात् उपत्यका बाहिर लगेर सस्तोमा बिक्री गर्ने गरेका पाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्ति ‘पटके अपराधी’

सो घटनामा पक्राउ परेका नाइके कर्मासँगै उनका सदस्यहरू पटकपटक विभिन्न अपराधमा पक्राउ परेको प्रहरीको विवरणले देखाउँछ । पेसाले सवारी चालक कर्मा यसअघि गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रहरी वृत्त स्वयम्भूबाट फरार भएका थिए । हिरासतबाट भागेपछि काठमाडौँका विभिन्न स्थानमा मोटरसाइकल चोरी र सिक्री लुटपाटमा सक्रिय रहेका कर्माविरुद्ध यसअघि नौ वटा चोरी तथा डाँका मुद्दा दर्ता भएका थिए ।

पक्राउ परेका गोले नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेकामा भदौको आन्दोलनमा भागेकामा पुनः पक्राउ परी कारागार पठाइएको र कैद भुक्तान गरी छुटेको तीन हप्ता मात्रै भएको प्रहरीले जनाएको छ । उनीविरुद्ध २०८२ जेठ र साउनमा प्रहरी वृत्त महाराजगन्ज र चापागाउँमा डाँका चोरी मुद्दा दर्ता भएको थियो ।

घिसिङले कर्मा समूहलाई लुटपाटमा आवश्यक मोटरसाइकल चोरी गरेर उपलब्ध गराउने तथा काठमाडाँैमा २० भन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको अनुसन्धानमा पाइएको छ । सुन पसल सञ्चालन गर्दै आएका तामाङले चोरी गरेर ल्याएका सुनका गरगहना गाल्ने र स्वरुप परिवर्तन गरी बिक्री गर्ने गरेका थिए । गुरुङ उनीहरूको ‘ब्याक फोर्स’का रूपमा सहयोग गर्दै आएका प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी