काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर बताएका छन्।
शनिबार उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने र एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।
उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन। कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन। बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ। धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ। देशव्यापी रूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ बढ्दै जानेछ।’
घिसिङले उज्यालो नेपाल पार्टीले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एकमात्र पार्टी आफ्नो भएको बताए।