काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् ।
बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले
काठमाडौँका सडकबत्तीहरूको व्यवस्थित सञ्चालन, मर्मत तथा व्यवस्थापन। , घट्दो भूमिगत जलस्रोतलाई तथ्याङ्कका आधारमा पुनर्भरण गर्न संयुक्त कार्यक्रम सञ्चालन।, सम्पदा क्षेत्रहरूमा पुरातत्त्व विभागसँग आवश्यक परामर्श गरी सापेक्ष विद्युतीकरण तथा प्रकाश व्यवस्थापनसम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयन गर्ने। ,विद्युत प्राधिकरणको काठमाडौँ महानगरपालिकासँग सम्बन्धित बक्यौताका विषयलाई व्यावहारिक र वैज्ञानिक आधारमा समाधान गर्ने। फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।
उनले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरबिच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राखे ।
छलफलका क्रममा मेयर डंगोलले महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्य योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन् ।
छलफलमा काठमाडौं महानगरको दिगो सहरी विकास, स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा दुवै निकायबिच सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।